२१ फागुन, सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन १५ गतेदेखि शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्रा यही फागुन २३ गते सुर्खेत आइपुग्ने जनाइएको छ । मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिने मुख्य उद्देश्य राखिएको मेची महाकाली यात्रा २३ गते कर्णाली प्रदेशको राजधानी सुर्खेत आइपुग्ने राप्रपा सुर्खेतले आज (मंगलवार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भएको यात्रा ३६ जिल्लामा पुग्ने उक्त यात्रा काठमाडौँमा आएर समापन हुने पत्रकार सम्मेलनमा राप्रपा सुर्खेतका अध्यक्ष मान बहादुर खड्काले बताउनु भयो ।
यात्राका क्रममा सम्बन्धित जिल्लाका सङ्गठनले आवश्यक समन्वयन र सहयोगमा २ हजार ८ किलोमिटरको यात्रामा गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब २ सय स्थानमा सभा गरिने बताइएको छ । सुर्खेतको पिपल चौतारीमा यही फागुन २३ गते ३ बजे आमसभाको तयारी भइरहेको राप्रपाले जनाएको छ ।
आमसभालाई पार्टी अध्यक्ष कमल थापालगाएत केन्द्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ भने सुर्खेत आउने क्रममा सुर्खेतको छिन्चुमा समेत कोण सभाको आयोजना गरिने जनाइएको छ ।
सनातन हिन्दु राष्ट्र घोषणा गराउने मुख्य लक्ष्य राखेको राप्रपाले राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महँगी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभा मार्फत जनतालाई बताउँदै उक्त यात्रा संचालन भइरहेको पार्टीका कर्णाली प्रदेश अध्यक्ष धनबहादुर बुढाले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै उहाँले भन्नुभयो, ‘पार्टीले लिएको राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन र सङ्घीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत सङ्ग्रह गरिनुपर्ने आफ्ना राजनीतिक एजेण्डासमेत जनता माझ छलफल गराउने कार्यक्रम छ ।’
त्यस्तै यात्राका क्रममा विभिन्न नदी तथा तीर्थस्थलबाट ल्याइने जल पशुपतिनाथ मन्दिरमा समापनका दिन चढाइनेछ । सङ्गठितरुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने, गौ हत्या नियन्त्रण गरिनुपर्ने, प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तीमा एउटा गौशाला निर्माण गरिनु पर्ने लगायतका मागहरु रहेका छन् । सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्बा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरिनुपर्ने, यस क्रममा पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरिनुपर्ने विषयमा पनि पार्टीले कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश समिति अध्यक्ष बुढाको भनाई थियो ।



Prawash Kumar Shakya । २१ फाल्गुन २०७५, मंगलवार २२:१७ बजे