आदिवासी जनजातिहरुको भिडियो सार्वजनिक


२६ श्रावण, सुर्खेत । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद वीरेन्द्रनगर सुर्खेतले आज एक समारोहको आयोजना गरेर आदिवासी जनजातिहरुको कला सँस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले वीरेन्द्रनगर नगर कार्यपालिकाको आर्थिक सहयोगमा भिडियो गित तयार पारी सार्वजनिक गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्रनगर नगर कार्यपालिकाका उपप्रमुख मोहनमाया ढकालले आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिको जगेर्ना गर्नको निमित्त डिपिआर तयार पार्न अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् वीरेन्द्रनगर सुर्खेतले तयार पारेको वीरेन्द्रनगर क्षेत्र भित्रका विभिन्न ७ वटा आदिवासी जनजातिको साँस्कृतिक भिडियो विमोचन कार्यक्रममा उप्रमुख ढकालले डिपिआर तयार पार्न आग्रह गर्नुभएको हो ।

अहिले कर्णाली प्रदेशमा टिक्ने खालको पर्यटक नआएको र पर्यटकलाई टिकाउनको लागि आदिवासी जनजातिहरुको साँस्कृति अनिवार्य रहेको प्रमुख अतिथि ढकालले बताउँदै “यो साँस्कृतिक भिडियो स्थानिय सरकारको हो जसलाई वीरेन्द्रनगर नगर कार्यपालिकाले स्वीकार गरिसकेको छ ।”  स्थानिय सम्पत्तिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा फैलाउन जरुरी रहेको जिकिर गर्नुभयो ।

अब आदिवासी जनजातिहरुले आफ्नो भाषा, कला संस्कृतिको लागि चिन्ता मान्नुपर्ने अवस्था छैन, यसको चिन्ता वीरेन्द्रनगर नगर कार्यपालिकाले गर्नुपर्ने उल्लेख गर्दै प्रमुख अतिथि ढकालले नेपालले लोकतन्त्र प्राप्त पश्चात जनताले पाएको अधिकार आदिवासी जनजातिले पनि पाउनुपर्ने पक्षमा आफु रहेको बताउनुभयो ।

उक्त साँस्कृतिक भिडियोमा मगर, गुरुङ, थारु, नेवार, खम्पा, राजी, कुमाल समुदायको भिडियो समावेश भएको छ । साथै सो भिडियो यु टूवमा समेत हेर्न सकिने व्यवस्था मिलाइएको छ । कार्यक्रमकै अवसरमा आदिवासी जनजाति पहिचान नामक पुस्तकको विमोचन, लिसार साँस्कृतिक समूहलाई सम्मान समेत गरिएको थियो ।