
भदौ ८, २०७५
महेन्द्रनगर – बालिका निर्मला पन्तका बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा शुक्रवार प्रहरीको गोली प्रहारबाट १ जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन् । आन्दोलन शुक्रवार साँझबाट फेरि शुरू भएर तनाव सिर्जना भएको छ । प्रदर्शनकारी आक्रोशित भएका छन् । प्रदर्शनकारी जिल्ला प्रशासन कार्यालयतिर आउन खोजेपछि प्रहरीले बल प्रयोग गर्दा फेरि झडप शुरू भएको हो ।
दिउँसो ३ बजेतिरबाट प्रदर्शनकारीले आन्दोलन शुरू गरेका र अहिले भीड बढ्दै गइरहेको छ । सरकारले उच्च स्तरीय छानबिन टोली गठन गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख परिवर्तन गरेपछि शुक्रवार बिहान साम्य भएको आन्दोलन दिउँसोबाट शुरू भएको थियो ।
भीमदत्त नगरपालिका–२ की निर्मला पन्तको हत्यामा संलग्न रहेका एक अभियुक्तलाई सार्वजनिक गरिएपछि स्थानीयले आन्दोलन चर्काएका थिए । प्रहरीले सोमवार स्थानीय ४१ वर्षीय दिलीप सिंह बिष्टलाई सार्वजनिक गरेपछि स्थानीयले विरोध चर्काएका थिए ।
मानसिक स्वास्थ्य ठीक नभएका बिष्टलाई अभियुक्त बनाएर बलात्कार र हत्यामा संलग्न वास्तविक अभियुक्तलाई जोगाउन खोखिएको भन्दै स्थानीयले मंगलवारदेखि आन्दोलन चर्काए थिए ।
यसअघि बिहीवार पनि प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको थियो । बिहीवार प्रहरीले गोली चलाउँदा १० जनाभन्दा बढी घाइते भएका थिए । बिहीवार घाइते भएकामध्ये गम्भीर १ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा उपचार भइरहेको छ । साभारः लोकान्तर खबर ।



Milan Shrestha । ८ भाद्र २०७५, शुक्रबार १६:०२ बजे