नयाँ शक्तिमा महरालाई पठाएर दाहाल बर्दिया पुगे


डल्ला(बर्दिया)–नयाँ शक्ति घोषणा कार्यक्रममा नेता कृष्णबहादुर महरालाई पठाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल बर्दिया पुगेका छन्। प्रमुख दलका शीर्ष नेता सहभागी भएको नयाँ शक्तिको घोषणा सभामा माओवादी केन्द्रबाट भने निवर्तमान महासचिव कृष्णबहादुर महरा शुभकामना दिन पुगेका थिए।

जनयुद्धदेखि सहयात्री रहेका अध्यष दाहाल बाबुराम भट्टराईले नयाँ शक्ति घोषणा गर्दा भने युद्धकालमा बेपत्ता भएका २१ परिवारका सदस्यसँग भेटघाटमा व्यस्त थिए। दाहाल नेताहरु रामबहादुर थापा, मातृका यादव, तिलक परियारसहितका नेतालाई साथमा लिएर बर्दिया पुगेका थिए। बर्दिया पुगेका दाहालले भट्टराईको नयाँ शक्तिप्रति भने कुनै टिप्पणी गरेनन्।

बर्दियाको सूर्यपटुवा डल्लामा सहिद बेदप्रसाद योगी थारुको शालिक अनावरण कार्यक्रममा दाहालले पार्टी एकीकरणबाट कार्यकर्तामा उत्साह थपिएको बताए। ‘दुई वर्ष अघिदेखि गरिएको प्रयासबाट पार्टी एककीरण भएको छ, एकबद्ध भएर संघर्ष गर्छौं,’ उनले भने। पार्टी एकीकरणबाट बनेको माओवादी केन्द्र जनताको सपना पूरा गर्न अघि बढिसकेको दाबी गर्दै दाहालले पार्टी विभाजनले राष्ट्र अफठ्यारोमा परेकाले सबै दल एकताबद्ध भएर अगाडि बढ्नपर्ने उल्लेख गरे। ‘संविधान सभा र राजतन्त्र फाल्न हामीले नेतृत्व गरेको थियौं’, उनले भने, ‘अहिले हामीले लगाएको बाली मालिकसँग आफैंले मागेर खानु पर्ने स्थिति आएको छ।

‘जनयुद्ध सुरु गर्दा पनि केही गर्दैनन् भनेर हिँडे’, उनले थपे, ‘हामीले गर्दा ठूलो परिवर्तन भयो, देशमा संविधान सभाबाट संविधान निर्माण हामीले गर्दा भएको हो।’ देशलाई विखण्डन गर्ने खोजेको आरोप लगाउँदै सवै वर्गलाई सचेत रहन उनले पटक पटक आग्रह गरे। भविष्यमा पार्टीको नेतृत्वले मधेस, तराईमा रहेको उत्पीडन समुदाय र पहाडका जनजातिको हितमा संविधान संशोधन गरेर अघि बढ्ने उनले दाशी गरे। शक्ति सन्तुलन गर्नका लागि ७ बुँदे र १२ बुँदे सम्झौता गर्दै पार्टी अघि बढेको बताउँदै पार्टी न जितेको न हारेको अबस्था भएको उनको भनाइ छ। आफूले लगाएको बाली आफैंले काट्ने तयारी गरिरहेको उनले जिकिर गरे। सहिदको सपना पूरा गर्नका लागि यस बजेटमा थप पाँच लाख विनियोजन भएकाले पार्टी सरकारमा भएकाले थप प्रभावकारी कार्यक्रम ल्याउँने भन्दै उनले आश्वस्त पारे ।

साभारः नागरिक अनलाइन