चिसोले गर्दा टरवाइन र नहरमा बरफ जम्दा विधुत आपूर्तीमा समस्या



हरि कृष्ण कुमाई, जुम्ला
पौष २८
करिब १ हप्ता देखि हिमाली जिल्ला जुम्लाको तापक्रम माईनस ८डिग्री सेल्सियस भन्दा तल झरे संगै नहरमा बग्ने पानी बरफमा परिणत भएपछि पातारासी गाँउपालिका १ र २ मा पर्ने त्रिवेणी जल विधुत गृहबाट प्रशारण हुने विधुत आपूर्तिमा समस्या भएको छ ।

स्थानियहरुले नहर र टरवाइनमा जमेको बरफलाई फोडे पछि मात्र नहरमा पानी चल्छ र विद्युत गृहको टरवाइन घुम्छ । हाम्रो गाँउ त पातारासी हिमालको काखमा छ, हिमालको काखमा त जाडो बेसी नै हुने भइहाल्यो स्थानिय लालबहादुर ऐडीले बताए ।

स्थानीयले हरेक दिन विहान गाँउले सवै मिली बरफलाई फोडे पछि मात्र विद्युत सञ्चालन हुने विधुत अपरेटर सुरेश ऐडीले बताए । हरेक विहान हामीले बरफलाई नफुटाए सम्म गाँउमा विद्युत आउदैन ऐडीले भने । पहिले दिनमा सोह्र घण्टा विधुत आपूर्ति हुने गरेकोमा आजभोली २ घण्टा पनि मुश्किलले विधुत आपूर्ति हुने गरेको अपरेटर ऐडीले जानकारी दिए ।

२ करोड ८० लाख रकमको लागतमा २०७० सालमा निर्माण भएको त्रिवेणी जल विधुतको क्षमता ४५ किलोवाट र नहरको लम्वाई तिन किलोमिटर रहेको छ । बरफको कारणले पातारासी गाँउपालिका १ र २ का सात सय घरधुरीका स्थानिय अध्याँरो मुनि वस्न बाध्य भएका छन् ।