निर्मला हत्या प्रकरण : प्रारम्भमै त्रुटि भयो


पत्रकार सम्मेलनमा आयोग प्रवक्ता मोहना अन्सारीलगायत कर्मचारी। तस्बिर : विष्णुप्रसाद देवकोटा

 

महेन्द्रनगर : राष्ट्रिय मानवअधिकार आयोगले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटना अनुसन्धानमा प्रारम्भमै त्रुटि रहेको जनाएको छ।

आयोगले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सुरु अवस्थामै कञ्चनपुर प्रहरीको अनुसन्धानमा त्रुटि रहेको ठहर गरेको हो। आयोग प्रवक्ता मोहना अन्सारीले आयोगको प्रारम्भिक प्रतिवेदनले घटनाको अनुसन्धान सुरुदेखि नै त्रुटिपूर्ण रहेको बताइन्।

‘यो घटनाको अनुसन्धानमा सुरुदेखि नै त्रुटि रहेको देखिन्छ’, प्रवक्ता अन्सारीले भनिन्, ‘प्रहरीका जिम्मेवार अफिसरबाटै त्रुुटि भएको छ।’ उनले आयोगको प्रारम्भिक प्रतिवेदनले त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको भन्दै अझै आयोगले घटनाको विस्तृत अध्ययन गरिरहेको बताइन्।

‘घटनास्थलबाट संकलन हुनुपर्ने प्रमाण नै संकलन गरिएको देखिँदैन’, उनले भनिन्, ‘प्रमाण संकलन गर्ने बेला नै प्रहरीले त्यहाँ ठूलो त्रुटि गरेको छ।’ प्रहरीको अनुसन्धान नै त्रुटिपूर्ण देखिएको भन्दै घटनाका विषयमा आयोग गम्भीर रहेको उनले बताइन्। ‘आयोगले कञ्चनपुर घटनाका विषयमा धेरै अध्ययन गरेको छ’, उनले भनिन्, ‘अहिले हामीले प्रारम्भिक प्रतिवेदनमा यस्तो देखेका छौं, अझै अध्ययनले धेरै कुरा खुल्न सक्छ।’ आयोगले ५ जनालाई हिरासतमा यातना दिएको विषयमा समेत अध्ययन गरेको छ।

प्रहरीलाई उनीहरूको मेडिकल रिपोर्ट पेस गर्न पनि आयोगले पत्राचार गरेको छ। तर, प्रहरीलाई मेडिकल विवरण उपलब्ध गराउन १० दिनअघि पत्राचार गरिए पनि रिपोर्ट नआएको आयोगले जनाएको छ। आयोगले हिरासतमा राखिएका व्यक्तिबारे समेत कस्तो मुद्दा चलाएर हिरासतमा राखिएको भन्ने खुलाउन भनेको छ।

आयोगले हिरासतमा रहेका दिलीपसिंह विष्टको स्वास्थ्य अवस्था र उनलाई टिचिङ अस्पतालको बन्दकोठामा उपचारका नाममा यातना दिएर राखिएको भन्ने विषयमा समेत ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार नै आयोगको एक टोलीले उनको अवस्थाबारे जानकारी लिएको थियो।

आयोगले देशभर पछिल्लो समय महिला हिंसाका घटना प्रतिदिन बढिरहेको जनाएको छ। आयोगको ७ नम्बर प्रदेश कार्यालयमा चालु आर्थिक वर्षको सुरुमै २० वटा उजुरी परेका छन्। कतिपय घटना सार्वजनिक नहुनु, सार्वजनिक भएका अधिकांश घटनामा आफन्त, नातेदार, छिमेकीलगायत संलग्नता हुनु, केही घटनामा मिलापत्र हुनु र मिलापत्र गराउने कार्यमा सुरक्षाकर्मीको समेत संलग्नता हुने गरेको आयोगले अनुगमन क्रममा पाइएको जनाएको छ।

पीडित र साक्षी, प्रमाणको सुरक्षा र घटनाको शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनु आवश्यक रहेको आयोगले जनाएको छ।

पीडित परिवारसँग भेटघाट

राष्ट्रिय मानवअधिकार आयोगको उच्चस्तरीय टोलीले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको परिवारसँग भेट गरेको छ। बिहीबार आयोग प्रवक्ता मोहना अन्सारी नेतृत्वको उच्चस्तरीय टोलीले परिवारसँग भेट गरी घटनाबारे जानकारी लिएको हो। अन्सारीले पीडितको घरमा पुगेर अहिलेसम्म भएका अनुसन्धान, पीडित पक्षको भनाइ संकलन गरिएको आयोगको क्षेत्रीय कार्यालय धनगढीका प्रमुख झंकर रावलले जानकारी दिए।

उनका अनुसार निर्मला पन्तको घटनाको प्रहरीबाट हाल भइरहेको अनुसन्धान प्रगतिको अवस्थालगायत विषयमा समेत जानकारी लिएको छ। आयोगको टोलीले घटनाको स्थलगत अनुगमनसमेत गरेको छ।

आयोगको टोलीसमक्ष निर्मलाका परिवारले दोषी पत्ता लाग्नेमा आफूहरू विश्वस्त हुन नसकेको बताएका थिए। उनीहरूले घटना भएको ४३ औं दिन बितिसक्दासमेत हत्यारा पहिचान गर्नसमेत नसक्दा आफूहरूलाई आशंका बढेको बताएका छन्।

आयोगको टोलीले घटनामा संलग्न रहेको भन्दै हिरासतमा लिएर यातना दिइएका व्यक्तिसित समेत भेट गरेर उनीहरूको अवस्थाबारे जानकारी लिएको छ। प्रहरीले निर्मलाको बलात्कार र हत्या घटनामा अनुसन्धान क्रममा विभिन्न मानिसलाई हिरासतमा लिएर यातना दिएको पीडितले बताएका छन्।

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते भीमदत्त नगरपालिका–२ र १८ को बीचमा पर्ने निम्बुखेडा खोलानजिकै उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

साभारः अन्नपूर्ण पोष्ट ।