
कालिकोट, आश्विन १३ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले स्थानीय तहले भ्रष्ट्राचार नियन्त्रण गर्न नसकेमा सिंगै राजनैतिक व्यवस्थाका विरुद्ध जनमत वन्ने वताउनुभएको छ । जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा शुक्रवार सदरमुकाम मान्मामा भएको स्थानीय जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले ठुलो वलीदानको जगमा वनेको संघीय व्यवस्थाका विरुद्ध जनमत बन्दै जाँदा मुलुक नै असफल हुने खतरा रहेको उहाँको भनाई छ ।
भ्रष्ट्राचारवाट सम्पत्ति आर्जन गर्ने प्रवृत्तिले दलाल र भ्रष्ट मानसिकताको विकास हुने बताउदै मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘कामै नगरि गोजिमा पैसा आउने स्थिति भएमा कसले गर्छ श्रम ? अनि कसरी बन्छ मुलुक ?’
भ्रष्ट्राचार गर्ने उद्धेश्यले नै योजना निर्माण गर्ने र पकेटका मान्छेहरुलाई योजना कार्यान्वयनको जिम्मेवारी दिने प्रवृत्ति स्थानीय तहमा वढन थालेकोप्रति मुख्यमन्त्री शाहीले चिन्ता व्यक्त गर्नुभयो । स्थानीय जनप्रतिनिधिहरुलाई ईमान्दारिताका साथ काम गर्न आग्रह गर्दै मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘अहिले सातु खाएर काम गरौं, मुलुक समृद्ध भएमा हामी त्यसै समृद्ध हुन्छौं ।’
कर्णालीको समृद्धिका लागि सवै नागरिकले २४ घण्टा श्रम गर्नुपर्ने संस्कारको विकास गर्न जरुरी रहेको वताउदै प्रदेश सरकारले श्रमदिन मनाउने गरेको र आफुले पनि ढुंगा वोक्ने गरेको उहाँको भनाई छ । मुख्यमन्त्रीले ढुंगा वोक्यो भनेर आफ्नो आलोचना हुने गरेको पनि आफुलाई थाहा भएको वताउदै मुख्यमन्त्री शाहीले विकास र समृद्धि दलाली गरेर हाँशील नहुने वताउनुभयो ।
अन्तरक्रियामा वोल्दै मुख्यमन्त्री शाहीले आफनो क्षेत्रको विकासका लागि कसैको भर नपर्न आग्रह गर्नुभयो । संसारका सवै राष्ट्र आफनो श्रम र चेतनामा विश्वास गरेर नै समृद्ध भएको वताउदै उहाँले भन्नुभयो–‘अव कसैले दिने त्रिपालको आशा नगरौं, हामी आफै उत्पादन र श्रममा लागौं ।’
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, भौतिक पुर्वाधार मन्त्री खडकवहादुर खत्री र प्रदेश सभा सदस्य कुर्मराज शाहीले पनि आतिथ्यता रहेको थियो । जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख तथा वडाअध्यक्षहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया अघि मुख्यमन्त्री शाहीले जिल्ला स्थित राजनैतिक दल, नेकपाका जिल्ला नेता तथा कार्यकर्ता र पत्रकारहरुसंग भेटघाट गर्नुभएको थियो । भेटघाटमा मुख्यमन्त्री शाहीले भ्रष्टाचार विरुद्ध प्रदेश सरकारले शुन्य सहनशिलताको नीति लिएको वताउदै विकास निर्माणमा हुने भ्रष्टाचारका विरुद्ध नागरिक खवरदारि आवश्यक भएको वताउनुभएको थियो ।



Milan Shrestha । १९ आश्विन २०७५, शुक्रबार १७:१५ बजे