
१ असार । काठमाडौं: भारतबाट भित्रिएको घातक कीराको प्रकोप पहिलो पटक उपत्यका आसपासका गोलभेंडाका बोट र फलमा भेटिएको छ।
खुला सीमाना र कडाइका साथ सीमा क्षेत्रमा प्लान्ट क्वारेन्टाइन परीक्षण भारतको महाराष्ट्र र कर्नाटकबाट यो कीरा प्रवेश गरेको हुन सक्ने अध्ययनमा खटिएका नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकले जानकारी दिएका छन्।
टुटा अवसोल्युटा (टीयूटीए एबीएसयूएलयूटीए) वैज्ञानिक नाम भएको यो कीराले गोलभेंडा खेतीमा विश्वभर विध्वंश मचाइसकेको छ। निकै घातक मानिने यो कीरा यसअघि दक्षिण अमेरिका, अफ्रिका, मोरक्को, टयुनेसिया, फ्रान्स, इटली, अल्जेरिया, आल्वानिया, बुल्गेरिया, नेदरल्यान्ड, पोर्चुगल, इजरायल, हंगेरी, सुडान र इथोपियामा यो कीरा भेटिएको थियो।
यस्तै सेनेगल, युरोप, इराक, टर्की, स्पेन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र भारतमा यो कीराको प्रकोप देखिएको थियो। पछिल्लो समय भारतको महाराष्ट्र र कर्णाटकको विभिन्न क्षेत्रमा महामारीका रूपमा फैलिएको थियो।
नार्कको किट विज्ञान महाशाखाका प्रमुख डा.प्रेमनिधि शर्माका अनुसार भारतको महाराष्ट्र र कर्नाटकबाट राजधानी वरिपरीका क्षेत्रमा तरकारी र तरकारी जन्य वस्तु आयात हुने भएकाले विभिन्न प्रकारका कन्टेनरमार्फत यो कीरा उपत्यका क्षेत्रमा भित्रिएको अनुमान छ।
उनका अनुसार गोलभेंडाको अध्ययन गर्ने क्रममा यही जेठ महिनामा उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रे जिल्लामा यो कीराको प्रकोप भेटिएको छ। यो कीरालाई पुतली समूहको गेलिचिडायी परिवारमा वर्गीकरण गरिएको छ।
कीरा लागेको गोलभेंडाको बोटबिरुवा र गोलभेंडा एकदेखि दुई महिनामै ध्वस्त हुने वैज्ञानिकले बताएका छन्। नार्कले मंगलबार यो कीराको प्रकोपसम्बन्धमा जानकारी दिएको हो।
गोलभेंडाको अध्ययन गर्ने क्रममा यही जेठ महिनामा उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रे जिल्लामा यो कीराको प्रकोप भेटिएको छ।
नर्सरीमा लगाइएको बेर्नादेखि नै यो कीराको प्रकोप फैलिएको अध्ययनको क्रममा भेटिएको हो। ६ जिल्लाका विभिन्न १७ स्थानबाट कीराको नमुना संकलन गरिएको थियो। यसमध्ये १४ स्थानमा यो कीराको प्रकोप भेटिएको छ।
नार्कले कीराको नमुना संकलन गरेर विस्तृत अध्ययनका लागि नयाँ दिल्लीस्थित इन्डियन एग्रिकल्चर रिसर्च इन्सिटिच्युट (आईएआरआई) मा पठाएको थियो।
‘अध्ययनबाट नेपालमा कहिले यसअघि कहिले नपाइएको टुटा अवसोल्युटा नामको कीरा रहेको पुष्टि भयो’, डा. शर्माले भने।
किट विज्ञान महाशाखाका अर्का वैज्ञानिक अजय श्री रत्न बज्राचार्यका अनुसार यो कीरा लाग्दा गोलभेंडाको डाँट र मुनामा कालो दिशा गरेको जस्तो लक्षण देखा पर्छ। यसैगरी पातमा हरियो भाग कीराले खाएपछि पातको बीच भाग र छेउछाउमा पहेंलो जस्तो लक्षण देखापर्छ।
डाँटसँग मुना र फल जोडिने गोलभेंडाको फेदमा ससानो दुलोजस्तो देखिनु पनि यो कीरा लागेको लक्षण हो। यस्तै पाकेको रातो गोलभेंडाको डाँट जोडिने वरिपरीका क्षेत्रमा सडेकोजस्तो सानोदेखि ठूलोसम्मको दुलो देखापर्छ।
‘विश्वभरका मुलुकमा उत्पात मचाईसकेपछि यो कीराको प्रकोप उपत्यका वरिपरीका क्षेत्रमा भेटिएको छ’, वज्राचार्यले भने, ‘अध्ययनका क्रममा यही महिना फेला परेको हो। यसको विस्तृत अध्ययन अहिले पनि जारी छ।’
नार्कका अनुसार यो कीरालाई दीर्घकालीन रूपमा नष्ट गर्न समय लाग्ने भएकाले तत्कालै नियन्त्रण गर्न नेपालमा अनुमति पाएको दुई प्रकारको विषादी प्रयोग गर्न किसानलाई सुझाइएको छ। यसअनुसार क्लोराइनट्रानिलिप्रोल र स्पाइनोसैड नामको दुई प्रकारको विषादी कीराको प्रकोप लागेको गोलभेंडाको बोटबिरुवा तथा फलमा छर्किंदा तत्कालका लागि प्रकोप नष्ट हुने वैज्ञानिकले सुझाव दिएका छन्।
‘तर यो दीर्घकालीन उपाय होइन’, वज्राचार्यले भने, ‘दीर्घकालीन रूपमा यो कीराको वंश नै नष्ट गर्ने गरी हामी वैज्ञानिक मिलेर गहन अध्ययन गरेर आवश्यक औषधि विकास गर्न अहोरात्र खटिएका छौं।’ नार्कले यस्ता कीराबाट प्रभावित भएका गोलभेंडा सकभर उपभोगमा नल्याउन सुझाव दिएको छ।
साभारः अन्नपूर्ण पोष्ट



Prawash Kumar Shakya । १ असार २०७३, बुधबार ०१:५७ बजे