

सुर्खेत, १४ मंसिर ।
प्रेस काउन्सील नेपालको टोली र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विच भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा काउन्सीलका वोर्ड सदस्य खिलवहादुर भण्डारी नेतृत्वको टोलीले कर्णाली प्रदेशका आमसंचार माध्यमहरुको अवस्था, पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था र प्रेस काउन्सीलको प्रादेशिक कार्यालय स्थापना लगायतका विषयमा छलफल गरेको छ ।
भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका मिडिया तथा संचारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । स्वतन्त्र मिडियाको विकासले मात्रै लोकतान्त्रिक पद्धति संस्थागत हुने बताउदै प्रेस स्वतन्त्रताको प्रत्याभुति र मिडियाको सर्वाङ्गीन विकासको लागि आवश्यक नीति तथा कार्यक्रम बनाएर अगाडि बढने बताउनुभयो ।
मुख्यमन्त्री शाहीले पत्रकारको क्षमता विकास र पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थालाई सुदृढ गर्न प्रदेश सरकारले आवश्यक वजेट विनियोजन गरेको पनि जानकारी दिनुभयो ।
मुख्यमन्त्री शाहीको कार्यकक्षमा भएको भेटवार्तामा प्रदेश सरकारका मन्त्रीहरु, प्रेस काउन्सीलका वोर्ड सदस्य ईश्वरी ओझा, प्रशासकीय अधिकृत रामशरण वोहोरा लगायतको सहभागिता रहेको थियो ।
Prawash Kumar Shakya । १४ मंसिर २०७५, शुक्रबार १८:१४ बजे