
गाँऊको घर छोडेर
बर्षौ पहिले
एक कुटिरो रहर बोकेर
शहर झरेका लाले बिरे काका
अस्ति मात्र फेरी
गाँऊ फर्के ।
आफु जस्तै खिया लागेको
मुल ढोकामा झुन्डिरहेको
बुढो भोटे ताल्चा सुम्सुमाऊदै
मधेशको ठुलो बाढीले बगाएकि
आफ्नि अर्धांगिनी सम्झिँए
त्यहि बाढीले आफ्नै आखैँ अगाडि
बेपत्ता पारेका लालाबाला सम्झिए
र
सम्झिँए उनै प्राणप्यारीले
गाँऊ छोड्दा
भनेका वाक्यहरू
“बुढा,जानै मन छैन मलाई छोडेर यो माटो
पराया देश…”
र
सम्झिँदै आफ्नो जिद्दीपनको अगाडि
घुडाँ टेकेकि आफ्नि प्यारी अर्धांगिनी,
भक्कानिदै थचक्क बसे मुल
ढोका छेऊ
र
घरका भित्ता जस्तै चिरा परेका
आफ्नै पैतालाहरू निहाल्दै
भनिरहे…
“प्राणप्यारी, मैले माटो चिन्न सकिन
त्यो भन्दा ठुलो कुरो
मैले तिमीलाई चिन्न सकिन……।
-प्रकाश
राष्कोट ,कालिकोट-कर्णालि नेपाल ।



Milan Shrestha । ५ माघ २०७५, शनिबार ०७:२८ बजे