पानकली हेरेपछि सुरेन्द्रले लेखे मन छुने प्रतिक्रिया


असार २, सुर्खेत ।

खस भाषाको पहिलो नेपाली चलचित्र पानकली हेरेर डोल्पाका सुरेन्द्र शाहीले चलचित्रका बारेमा लामो प्रतिक्रिया दिनुभएको छ ।

खस भाषामा कर्णालीको भूमिमा छायांकन गरीएको चलचित्र पानकली वालविवाह, बहुविवाह, जातीय छुवाछुत र जारी प्रथामा केन्द्रित रहेको छ ।

पहिलो पटक चलचित्र हेरेर कमेन्टमा शाहीले यस्तो लेख्नु भएको छ

feeling प्रिय पानकली सम्झना                                                                                                के पुर्व के पश्चिम । यसभन्दा पहिले नेपाली चलचित्र बिनायो हेरेर भावुक भएको यो मन फेरि सुदूरपश्चिमकि पानकलीले बिगार्दिएकी छे । यस चलचित्रमा पुर्खाको संस्कार जस्ताको त्यस्तै देख्न पाइन्छ । यस चलचित्रमा संस्कार विरुद्धको त्यस्तो कुनै पनि क्रियाकलाप देख्न पाइएन । के ठिक थियो ? के बेठीक थियो ? कर्णालीको कुन संस्कार राम्रो हो ? कुन संस्कार नराम्रो हो ? त्यो फैसला यस पानकली चलचित्र परिवारले हामी दर्शकहरुको जिम्मामा छोडिदिएका छन् । खस भाषामा बनेको चलचित्रमा भौगोलिक विकटता, साँस्कृतिक सम्पदा र सुदूरपश्चिमको सामाजिक जीवनशैलीको बारेमा छर्लङ्ग पारिएको छ । यदी यो चलचित्र सुदूरपश्चिम कै दर्शकले हेर्नुभयो भने आफ्नो जीवन ऐनामा हेरे जस्तो हुनेछ । भने यदी भाषा नबुझे पनि हेरौँ न भन्नेहरुको लागि कर्णालीको भौगोलिक विकटता हेर्न, त्यहाँको साँस्कृतिक परिवेशमा रमाउन, त्यहाँको हिउँसँग लड्न र त्यहाँका हरपात्रसँग जोडिन यो चलचित्रले उत्प्रेरित गर्नेछ ।

यस चलचित्रमा पानकलीले कर्णालीको जनजीवनलाई सही तरिकाले सम्बोधन गरेकि छेँ (मनपर्छ नि त ) । हामी कर्णाली भित्र जन्मेर कर्णाली हेर्नेहरूले हामी आफैमा मुल्यांकन गर्दा कस्ता छौँ ? कुन दुनियाँमा छौँ ? हामी कुन धरातलमा उभिएका छौँ ? भनेर हेर्नै पर्ने दस्तावेज हो पानकली । कर्णालीको पात्र कर्णाली पर पुगिसके पछि कर्णाली बनाउछु, कर्णालीलाई करोडौंमा एक बनाउछु भन्दै कथा बनाउछन् । सुन्दर कर्णालीको सपना कुहाउँछन् । मेरो कर्णाली अझै रुढीग्रस्त छ भनेर देखेको मात्रै भए देखाउने चेष्टा नगरेको भए आज पानकलीलाई हजारौं लाखौँले हेर्ने थिएनन् होला । यो चलचित्र बनाउने कदमलाई सलाम हार्दिक बधाई । कर्णालीको सुन्दरता देखाएर कुरुपता लुकाएर हुने थिएन । त्यसरी कर्णालीलाई झन् कति ८झेग्रो बनाउनु । यो चलचित्र मात्रै होईन । यो कर्णालीको यथार्थ हो समस्या हो । म त अझ यसलाई आन्दोलन पनि हो । यस चलचित्रमा देखिएको बालविवाहमा मेरो यथार्थ झल्किएको छ । सधै चुल्होचौको, घाँसदाउरा, पानीपँधेरो गरेको दृश्यमा कर्णालीका हजारौं छोरीबुहारीहरुको पीडा देखिएको छ ।

दलित भन्ने बित्तिकै तल्लो नजरले हेर्ने, हेप्ने, तुच्छ शब्द प्रयोग गर्ने र दलित भनेका तल्लो जातका मानिस हुन् भन्ने दृष्टिकोण नेपाली समाजमा अझै छ । यस चलचित्रमा पानकलीलाई दलित कै भूमिकामा घाँसदाउरा गरेको, बेसाह कारेर छाक टारेको, नाङ्गै खुट्टा हिडेको दृश्यले मन दुखी बनाइदिन्छ । पश्चिमेली समाजमा कालिपार (ईन्डिया) जाने टेप ल्याउने चलन थियो । कालिपार जाने बारेमा दृश्य देख्न पाइएन । तर, अगाडि टेप झुण्डाएर पछाडि भारी बोकेको दृश्यले मैले मेरो अतीत खुब मिस गरेँ । बयानु (साई लाउन्या) बुझाउने, अर्काको स्वास्नी भगाएर ओडारमा बसेको दृश्य र त्यसपछि अर्काको स्वास्नी ल्याएपछि जारी तिर्नुपर्ने दृश्य, जारी तिर्दा गाउँघरमा ठुलाठाली बसेको दृश्य अनि सिक्काको माला, पोते, टोपीमा राखेर राडी, लिउ सहित तिरेको दृश्य अति नै अर्गानिनक दृश्यहरु झै लाग्थ्यो ।

कहीँकतै रमाइला दृश्यहरू शुभ कार्यमा गाइने मागल, लहरे नाच, बनपाखामा गाउने ठाडी भाका, जन्ती नाच, धामी नाच इत्यादि देख्न पाइन्छ । भने विकट गाउँठाउँको विकटताले दिएको दर्द, बालविवाह, सुत्केरी गोठमा गराएको दृश्य, सुत्केरीलाई खुवाउन भाले खोजेर ल्याएको दृश्यहरु बडो मनछुने छन् । मुख्य त, यस चलचित्रमा देखिएका मुख्य आकर्षक भनेको बालविवाह, कर्णालीको जनजीवन, जातीय छुवाछूत र गरीबी देखिन्छन् । मैले यति भनिरहदा यस पानकलीको बारे कतै केही छुटाए कि केही कम पो बोले कि भन्ने लागिरहेको छ । अन्त्यमा पानकलीलाई मीठो सम्झना बधाई तथा शुभकामना । रेशम रचित बिष्ट सरलाई पानकली भेटाइदिएकोमा हार्दिक आभार भन्दै सबैलाई फुर्सदको समयमा हेर्न अनुरोध गर्दै ओझेल पर्छु । धन्यवाद

सुरेन्द्र शाही
डोल्पा