सुर्खेतमा क्यान ईन्फोटेक संचालन हुने


१० माघ, सुर्खेत । कर्णाली प्रदेशलाई लक्षित गरेर प्रदेश राजधानी सुर्खेतमा यही फागुन २४ देखि २८ गते सम्म कर्णाली प्रदेश स्तरिय क्यान ईन्फोटेक २०१९ को आयोजना हुने भएको छ ।

कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) सुर्खेतको आयोजना तथा IMEPay को मुख्य प्रायोजनमा “IMEPay CAN Info-Tech 2019” हुन लागेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा क्यान महासंघ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले बताउनुभएको छ ।

यो कार्यक्रमले कर्णाली प्रदेश सरकारले लिएको “समृद्ध नेपालकालागि डिजिटल कर्णाली”अभियानलाई समेत सहयोग पुग्नेः अध्यक्ष चन्द

क्यान महासंघ सुर्खेतले यस भन्दा अघि सुर्खेतमा संचालित व्यापार महोत्सवहरुमा सन् २०१३ र २०१६ मा गरि सकेको र यस पटक आफ्नै एकल आयोजनामा ईन्फोटेक संचालन गर्न लागेको अध्यक्ष चन्दले बताउनुभयो ।

करिव ७० वटा स्टल रहने ईन्फोटेकमा राष्ट्रिय स्तरका व्यावसायीहरुद्वारा नविनतम् प्रविधिहरुको प्रदर्शनी मुख्य आकषर्ण हुने र मेला भित्र आइसिटी कन्फ्रेन्स, आइटी वर्कसपहरु संचालन हुने र यो कार्यक्रमले कर्णाली प्रदेश सरकारले लिएको “समृद्ध नेपालकालागि डिजिटल कर्णाली” अभियानलाई समेत सहयोग पुग्ने अध्यक्ष चन्दले बताउनुभयो ।

मेलामा स्थानीय मुख्य पर्यटकियहरु काँक्रेविहार, बुलबुले ताल, देउतीबज्यै मन्दिर, गोठीकाँडा, घण्टाघर, भेरी र कर्णाली नदी, जाजुरा दह, कुपिण्डे दह, रारा ताल, थारु होमस्टे लगाएतलाई प्रविधीमा जोडेर पर्यटन प्रवर्धनमा टेवा पुग्ने लक्ष्य लिएको क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले बताउनुभयो ।

IMEPay मुख्य प्रायोजक रहेको ईन्फोटेकमा IMEPay बाट अनलाइन टिकटको व्यवस्था रहेको र विद्यार्थीहरुले विद्यालयको पोशाक र परिचय पत्र साथ भए निशुल्क प्रवेश तथा परिचय पत्रमा भएका विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा प्रवेश दिइने अधिकारीले बताउनुभयो ।

ईन्फोटेकमा सामाग्री खरिद गर्दा ग्राहकलाई ५ देखि ५० प्रतिशत सम्म छुट गरिने तथा  निशुल्क कम्प्यूटर तथा प्रिन्टर मर्मत क्याप हुने क्यान महासंघ सुर्खेतका सचिव तिलक आचार्यले जानकारी दिनुभयो ।