महाशिवरात्री भव्य र सभ्य बनाइने


१४ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-९, लाटीकोइली, सुर्खेत स्थित ऐतिहासिक शिव मन्दिरमा हिन्दु धर्मालम्वीहरुको महान चाड “शिवरात्री’ भव्य र सभ्य तरिकाले मनाउनकालागि महाशिवरात्री मेला मुल आयोजक समिति गठन गरिएको छ ।

लाटीकोइलीमा आज बसेको भेलाले मूल आयोजक समितिको संयोजकमा ध्रुवकुमार श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै भेलाले सचिवमा धनबहादुर सलामी, कोषाध्यक्षमा चन्द्र श्रेष्ठ, सहसचिवमा भूपेन्द्र घर्ती मगर तथा सदस्यहरुमा किरण श्रेष्ठ, कमल बहादुर जिसी, कृष्णकुमार श्रेष्ठ, नरबहादुर रावल र श्याम पन्तलाई चयन गरेको छ ।

त्यसैगरि भेलाले मेलालाई व्यवस्थित गर्नकालागि विभिन्न उपसमितिहरु गठन गरेको छ । प्रसाद व्यवस्थापन समितिको संयोजकमा सुवर्णभूषण मानन्धर, आर्थिक व्यवस्थापन तथा परिचालन समिति संयोजकमा नविनकुमार शाक्य, गेट तथा ध्वजापताका व्यवस्थापन संयोजकमा कृष्णकुमार श्रेष्ठ, जुत्ताचप्पल व्यवस्थापन संयोजकमा डम्मर रोकाय, बजार व्यवस्थापन संयोजकमा दिनेश गिरी, सूचना तथा सञ्चार संयोजकमा प्रवाशकुमार शाक्य, यातायात व्यवस्थापन संयोजकमा सरोज श्रेष्ठ, फूलमाला व्यवस्थापन संयोजकमा दुर्गादेवी दर्लामी, पाहुना व्यवस्थापन संयोजकमा निमबहादुर शाह, स्वयम् सेवक परिचालन संयोजकमा भरतमान शाक्यलाई चयन गरेको छ । भने मेला अनुगम संयोजकमा डम्मर विक्रम जिसी र सदस्यमा भूषणकुमार मानन्धर रहनुभएको छ ।

भेला कार्यक्रममा वडा नं. ९ का अध्यक्ष एवं मेलाका संरक्षक सुरेश मानन्धरले हरेक बर्ष स्थानीय क्लवहरुले मेलालाई व्यवस्थापन गर्दै आइरहेकोमा यस बर्ष देखि मन्दिर व्यवस्थापन समिति गठन भए संगै नयाँ तरिकाबाट महाशिवरात्री मेलाको आयोजना हुनु नै वडा‍को गौरवको विषय भएकोले सम्पूर्ण वडाबासीहरुलाई मेला भव्य र सभ्य बनाउनकालागि अनुरोध गर्नुभयो ।

मेला अवधिभर पर्यटकिय स्थल काँक्रेविहार घुम्नकालागि निशुल्क यातायातको सुविधा गराइएकोले मेलामा आउने भक्तजनहरुलाई काँक्रेविहार भ्रमणकालागि वडा अध्यक्ष मानन्धरले आग्रह गर्नुभयो ।