कर्णाली करिडोर अन्तर्गत कालिकोटको रेगिलमा गाडी गुड्दै ।नेपाली सेनाले जिल्लाको कोडबाडा लालिघाटदेखि रकुको रेगिलसम्म ६ किलोमिटर कडा चट्टान फाडेर गाडि पुगाएको हो। विगतको कर्णाली करिडोरमा बजेटको अभावसँगै ठेकेदारको चरम लापरवाही र समयमा काम नगर्दा बजेट फ्रिज जाने समस्याले ग्रसित थियो। रुपैडिया–हिल्सा सडक खण्ड अन्तर्गत कालिकोटको खुलालु–हुम्ला सिमीकोट सडक विस्फोटसहित निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि काममा तीव्रता आएको हो।
नेपाली सेनाले सडक निर्माणको जिम्मा लिएपछि जिल्लाको कर्णाली पारिका १७ गाविससहित बाजुरा, मुगु र हुम्लाबासीको गाडी चढ्ने सपना पूरा हुँदैछ। कर्णाली करिडोर अन्र्तगत कालिकोटमा ४० किलोमिटर, बाजुरा जिल्लामा ४३ किलोमिटर र हुम्लामा १ सय १३ किलो मिटर रहेको छ।
बिस २०५७ सालमा नेपाल सरकारका तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले शिलान्यास गरेको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको १९२ किलोमिटर सडकखण्ड १५ वर्षसम्मपनि गति लिन नसेकेपछि यहाँका स्थानीयबासीको माग अनुसार नै गत वर्ष चैत ९ गते नेपाली सेनाले कर्णाली करिडोर निर्माण गर्ने जिम्मा लिएको थियो। निर्माणको जिम्मा लिएको एक वर्षमा नै नेपाली सेनाले रेगिलघाटको चट्टान फोरेर गाडी गुडाएको हो। आमतडा भीर, भुराबगरको चट्टाने भीर तिब्र गतिमा छिचोली रहेको छ। चालू आर्थिक वर्ष भित्र कालिकोटको खुलालुदेखि बाजुरको अर्थुगेचौरसम्मको ६८ किलोमिटर सडक निर्माण गरिसक्ने नेपाली सेना सडक निर्माण कार्यदलका प्रमुख कर्णेल इन्द्रबिर गुरुङले बताए। कालिकोटको खुलालुदेखि हुम्ला सिमिकोटसम्म ८ किलोमिटर ठुला–ठुला चट्टाने भू–भाग रहेको कर्णाली करिडोर४ वर्ष भित्र निर्माण कार्य गरिसक्ने सडक निर्माण कार्यदलका कर्नेल गुरुङले बताए।
समृद्धीको यात्रामा कर्णाली
कर्णाली करिडोर निर्माण पूरा भएपछि कर्णाली समृद्धिका पाइला अगाडि बढाउने निश्चित भएको जनाकारहरुको बुझाइ छ। करिडोरले चीनसँगको सीमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको सडक बन्नेछ। यसको कुल लम्बाई ५ सय ३० किलोमिटर रहने छ। सडक खण्ड निर्माण भएका भारतबाट हुम्लाको मानसरोवर आउने पर्यटकका लागि निकै राम्रो र छोटो दूरीको कर्णाली राजमार्ग हुनेछ।
सडक निर्माण भए पर्यटन र ब्यापारका दृष्टिकोणले तीन देशीय ट्रान्जिट बन्ने भएकोले विकासको दृष्टिकोणले पछाडि परेको कर्णालीको वास्तविक पहिचान हुने कर्णालीबासीको भनाइ छ। कर्णाली करिडोर निर्माण भए कर्णाली तीन देशको ब्यापारिक मुलधार बन्ने नेपाली कांग्रेसका सभापति हर्षबहादुर बमले बताए । यस सडक निर्माण भए कर्णाली नेपाल, भारत र चीनको ब्यापारका राम्रो हुने विश्वास गरिएृको छ। हाल हुम्लादेखि हिल्सासम्मको ३५ किमि सडकखण्डमा मालबाहक ट्रक जीप लगाएतका अन्य ३५ वटा सवारी साधन बिना दर्ता चलिरहेको छन् । ती सवारी साधनले इन्धन पनि चीनबाट नै प्रयोग गर्ने गरेका छन् ।
साभारः नागरिक अनलाइन



Prawash Kumar Shakya । ३० जेष्ठ २०७३, आईतवार ११:४६ बजे