जग्गा खोज्न जाँदा कार्यालयमा रेकर्ड छैन


सुर्खेत, ७ आसाढ । केही समय अघिदेखि नक्कली इन्जिनियर, नक्कली पाइलट र नक्कली डाक्टरको खबरले देशभरी नै सनसनी फैलीयो । तर सुर्खेतमा जग्गाको लालपुर्जा पनि नक्कली भेटिएको छ । जग्गा कारोबार गर्नेहरुले एक ठाउँको जग्गा देखाएर अर्को ठाउँको जग्गा पास गराइदिने गुनासो आइरहेकाबेला लालपुर्जा नै नक्कली भेटिएपछि जग्गाको किनबेच गर्ने मानिसहरुलाई शसंकित बनाएको छ ।

दैलेख घर भएकी ३० वर्षिया पवित्रा थापा आइतबार ११ बजे नापी कार्यालय सुर्खेतमा आफ्नो जग्गाबारे बुझ्न जाँदा उहाँ अचम्ममा पर्नुभयो । जग्गा किनेको एकवर्षपछि घर बनाउनको लागि ट्रेस नक्सा बनाउन भनी नापीमा पुग्दा हाकिमले जग्गा नभएको कुरा सुनाएपछि पवित्रालाई छाँगाबाट खेसेझैँ भयो । श्रीमानले विदेशमा दुःख गरी पठाएको पैसाले घर बनाउने सपना बोकेर ट्रेस नक्सा बनाउन नापीमा पुग्नुभएकी पवित्राको आफ्नो जग्गा कार्यालयको रेकर्डमा छैन भन्ने सुनेपछि होस हरायो ।

एकवर्षअघि वीरेन्द्रनगर–१८ पतेनीमा ६ मिटर जग्गा हेरेर ८ लाखमा किनेको जग्गाको लालपुर्जा आफ्नै अगाडि बनाएको तर नापी कार्यालयले लालपुर्जा नै नक्कली हो तपाईको जग्गा हाम्रो रेकर्डमा छैन भन्ने सुन्दा उहाँलाई पर्नु पीर पर्यो । आफ्नै गाउँका काका ससुरा नाता पर्ने व्यक्तिले चिनाइदिएको निराजन रानाले आफुले किनेको जग्गाको लालपुर्जा नक्कली भएको १० महिनापछि थाहा पाउँदा उहाँलाई पश्चातापले पोल्नुसम्म पोल्यो ।

श्रीमान विदेश गएको पाँच महिनापछि २०७२ साल भदौमा जग्गा किन्न सुर्खेत आएकी पवित्रालाई उहाँका काका ससुराले जग्गा कारोबार गर्ने निराजन रानासँग भेट गराएका थिए । निराजनले आफुलाई ६ मिटर जग्गा देखाएपछि बैना स्वरुप तीनलाख रुपैयाँ पहिले नै दिएको पवित्राले बताउनुभयो । ‘मलाई जग्गा किनबेच गर्दा के गर्छन भन्ने केही पनि थाहा थिएन,’ पवित्राले भननुभयो, ‘उसले मलाई आफ्नो जग्गा हो भनि देखायो जग्गा हेरेपछि हामिले पनि चित्त बुझाएर तीनलाख बैना दियौं ।’

आफुले सामान्य लेखपढ मात्र गरेकोले मालपोतमा जग्गाको लालपुर्जा बनाउने प्रक्रिया सबै निराजनले नै गरेको र अन्तिममा आफुलाई लाप्चे लगाउन मात्र लगाएको पवित्राको भनाई छ । ‘ २०७२ भदौ १५ गते जग्गाको लालपुर्जा बनेपछि म ढुक्कले घर बनाउने योजना बुन्दै घरतिर लागेँ र बाँकी पाँचलाख रुपैयाँ एकहप्तापछि पठाइदिँए’ उहाँले भन्नुभयो ।

श्रीमानले विदेशबाट घर बनाउनका भनेपछि अहिले आफु सुर्खेत आउँदा नापी कार्यालयले लालपुर्जा अनुसार जग्गा नभएको देखाएपछि आफुलाई निराजन भन्ने जग्गा कारोबारीले ठगेको थाहा पाएको सुनाउनुभयो । ‘लालपुर्जा बनाउँदा मलाई उसले कार्यालय बाहिरै बस्न भन्यो,’ उहाँले थप्नुभयो, ‘भित्रबाट लालपुर्जा बनाएर ल्याप्चे लगाउन भन्योे र लालपुर्जा हातमा थम्याउँदै बाँकी रकम पठाउन भनेपछि हामीले पनि बुझ्दै नबुझी पाँच लाख रुपैयाँ पठाइदियौं ।’

नापी कार्यालयमा जग्गा नभेटिएपछि त्यसबारे मालपोत कार्यालयमा बुझ्न जाँदा मालपोत कार्यालय प्रमुखले पनि लालपुर्जा नक्कली भएको बताएपछि निराजनले अर्काको जग्गा देखाएर आठलाख रुपैयाँमा नक्कली लालपुर्जा बनाएर ठगेको पवित्रालाई पक्का भयो ।

लालपुर्जामा मालपोत कार्यालय प्रमुख काँसीराम खत्रीको हस्ताक्षर र कार्यालयको छाप लगाएको छ । पवित्राले हाकिमको हस्ताक्षर र कार्यालयको छाप लागेको लालपुर्जा कसरी नक्कली भयो भनि खत्रीसँग बुझ्दा उहाँले मेरो जागिर खानलाई तपाईहरुले यस्तो गर्नुभएको हो ? भन्न्दै उल्टै झपारेर बाहीर पठाएको पवित्राले गुनासो सुनाउनुभयो ।

‘लालपुर्जामा मेरो नक्कली हस्ताक्षर हो मैले गरेको होइन हाकिम सापले थर्काउँदै भन्नुभयो,’ पीडित पवित्राले भन्नुभयो, ‘लालपुर्जामा उहाँकै हस्ताक्षर र कार्यालयको छाप रहेको कसरी नक्कली भयो भनि मैले हाकिमलाई प्रश्न सोध्दा पनि उहाँले मलाई थर्काउनुभयो ।’ मालपोतका प्रमुख खत्रीसमक्ष निवदेन दर्ता गराउन खोज्दा उहाँले निवेदन समेत दर्ता गर्न नमानेको पवित्राको गुनासो छ । सोमबार जिल्ला प्रहरी कार्यालयमा नक्कली लालपुर्जासहित रकम असुली गरिदिन र आवश्यक कारबाहीको लागि निवेदन दर्ता गराउनुभएको छ ।

सुर्खेतमा अव्यवस्थित प्लटिङ्ग गरी जग्गा कारोबार गर्ने दलालहरुको विगविगी रहेको बेला अर्काको जग्गा देखाएर ठगी गर्नेको संख्या पनि बढदै गइरहेको छ । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक बहादुरजंग मल्लले आरोपी निराजन रानालाई पक्राउ गरी अनुसन्धान कार्य जारी रहेको बताउनुभयो ।

पछिल्लो समय मालपोत कार्यालय परिसरमा जग्गा किनबेच गर्न आउनेलाई अनावश्यक दुःख दिने र छिटो काम गराइदिने भन्दै रकम माग्नेहरुको भिड हुने गरेको सर्वसाधारणहरुको गुनासो छ । मालपोत जस्तो सरकारी कार्यालयको छाप र कार्यालय प्रमुखको हस्ताक्षर किर्ते गरी नक्कली लालपुर्जा बनाएको थाहा पाउँदा पाउँदै पनि मालपोत कार्यालय यसप्रति मौन रहनुले सर्वसाधारणमा गम्भीर प्रश्न खडा भएको छ ।