हरेक विकासमा सभ्य संस्कृति आवश्यकः मुख्यमन्त्री शाही



१० चैत्र, बाँके । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हरेक विकासमा सभ्य संस्कृति आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन पत्रकार महासंघको संयुक्त आयोजनामा आज ५ नं.प्रदेशको औद्योगिक नगरी बाँकेको नेपालगञ्जमा आयोजित तीनदिने पर्यटन पत्रकारितासम्बन्धी तालिमको उद्घाटन गर्दै   मुख्यमन्त्री शाहीले मानव सभ्यता विनासमृद्धि असंभवहुने बताउनुभएको हो ।

“पर्यटन अर्थतन्त्र निर्माणको एक बलियो आधार हो,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यो क्षेत्रको पर्यटन प्रवद्र्धनबाट मुलुकमा समृद्धि कायम गर्ने जग भनेकै सुसंस्कृत मानव सभ्यता हो ।”

उहाँले अगाडि भन्नुभयो, “अर्थतन्त्रको बलियो आधार पर्यटन क्षेत्र ठानेर कर्णाली प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले कर्णाली–रारा पर्यटन वर्ष २०७५ शुभारम्भ गरेको थियो ।” विशिष्टीकृत ढंगबाट विधागत पत्रकारितामा जोड दिईरहेको नेपाल पर्यटन पत्रकार महासङ्घले थालेको अभियानले पर्यटन क्षेत्रको विकासमा सघाउ पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


त्यस्तै, प्राकृतिक स्रोत साधनले धनी नेपाललाई विश्वकै पर्यटकीय गन्तव्य बनाउन अतिथि देवो भव संस्कृति प्रत्येक व्यक्तिको मष्तिष्कबाट आउनुपर्नेमा उहाँको जोड थियो । नेपाललाई अन्तर्राष्टियस्तरको पर्यटकीय स्थल बनाउन पहिलो पर्यटक नेपाली भएमा मात्र आन्तरिक पर्यटनको प्रवद्र्धन हुनसक्ने उहाँको तर्क थियो । त्यसैबीच, महासङ्घले थालेको अभियानका लागि संघीय सरकारसँग गर्नुपर्ने पहल र कर्णाली सरकारले गर्ने सहयोगका लागि तयार रहेको मुख्यमन्त्री शाहीले विश्वास दिलाउनुभयो ।

एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले पछिल्लो समयमा कम्युनिष्टहरुको ध्रुवीकरणबाट मुलुकले स्थायी सरकार पाएको भन्दै यसले जनअपेक्षा पुरागर्न विकासका गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो । यद्यपि यो एक वर्ष संरचनाको आधार निर्माण गर्ने वर्ष भएकाले आगामी वर्षहरुमा जनतालाई अनुभूति हुनेगरी कामगर्नु र नेपाललाई अविकसित देशको परिचयबाट हटाउने दिशामा लाग्नु सबै सरकारहरुको मुख्य जिम्मेवारी हुने उहाँको भनाई थियो ।


जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पर्यटन क्षेत्रको विकासका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । नेपाल पर्यटन पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धनिराम शर्माले राष्टिय पूँजीको निर्माण गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको जिकिर गर्नुभयो । उहाँले दक्ष एवं विज्ञ पत्रकार उत्पादनगरी पर्यटन पत्रकारिताबाट समृद्धिको दियो बालेर अघि बढिएको बताउनुभयो ।