कोपिला भ्याली सेवा समाज “समाज कल्याण शिक्षा पुरस्कार”बाट पुरस्कृत


२ असोज, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली सेवा समाज राष्ट्रिय शिक्षा दिवस-२०८०मा समाज कल्याण शिक्षा पुरस्कारबाट पुरस्कृत भएको छ ।

कोपिला भ्यालीलाई सडक बालबालिका, एचआईभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ असक्त तथा असहाय बालबालिकाहरुलाई पोषणसहित शिक्षा प्रदान गरि राष्ट्रियस्तरमा उल्लेखनीय योगदान पुर्याएवापत नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले समाज राष्ट्रिय शिक्षा दिवस-२०८० मा “समाज कल्याण शिक्षा पुरस्कार”  बाट पुरस्कृत गरेको हो ।

सन् २०१० बाट कोपिला भ्याली सेवा समाजले कोपिला भ्याली स्कूलको शुभारम्भ गरेको हो । समाजले स्थानीयस्तरबाट नै  बाँसबाट घरबनाई प्राथमिक विद्यालयबाट शिक्षा क्षेत्रमा आफ्नो कदम अगाडी बढाएको हो । विद्यालयले सुर्खेत लगाएत कर्णालीका विभिन्न जिल्लाहरुका बालबालिकालाई उच्च गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । समाजले २०१८ देखि कोपिला भ्याली स्कूलले वीरेन्द्रनगर-१ धारापानीमा वातावरण मैत्री, भूकम्प प्रतिरोधी, सौर्य उर्जा, बायो ग्यास र र्रयामड अर्थ लगाएतको सुविधासम्पन्न विद्यालय भवन तयार गरि अध्यापन गराउँदै आएको छ ।

अन्तराष्ट्रिय गैरसरकारी संस्था BlinkNow Foundation बाट म्यागी डोइनले र कोपिला भ्याली सेवा समाजका संस्थापक अध्यक्ष टोपबहादुर मल्लले संयुक्तरुपमा कोपिला भ्याली समाजलाई सञ्चालन गर्नुभएको हो ।