मजदुरहरुका लागि थुप्रै कानुन तथा योजनाहरु ल्याएकाछौंः मन्त्री बुढा


फोटोः अजय बर्माको फेसबुकबाट

१८ बैशाख, सुर्खेत । ‘सबै श्रमिक र रोजगारदातामा आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने राष्ट्रिय नाराका साथ आज (बुधवार) सुर्खेतमा पनि १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस जिफन्ट र अन्टुफले पनि मनाएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण नन्दसिंह बुढाले सरकारले मजदुरहरुका लागि थुप्रै कानुन तथा योजनाहरु ल्याएको बताउनुभयो । उहाँले कर्णाली सरकारले श्रम स्वकृति प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै दिन शुरु गरिएको जानकारी दिदै कर्णाली प्रदेशका सबै श्रमिकहरुको हक अधिकारका लागि सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट र अखिल नेपाल ट्रेड यूनियन महासंघ अन्टुफ र कर्णाली सरकारको सामाजिक विकास मन्त्रालय र श्रम तथा रोजगार कार्यालयले संयुक्त रुपमा कार्यक्रमको सम्पन्न भएको हो ।

कार्यक्रममा जिफन्टका केन्द्रिय उपाध्यक्ष एवम कर्णाली प्रदेश ईन्चार्ज विदुर कार्कीले अहिलेसम्म पनि श्रमीकहरुले कामको सम्मानजनक ज्याला पाउन नसकेकोमा दुख व्यक्त गर्दै उहाँले अहिलेका स्थानीय तहहरुले पनि श्रमिकहरुको पारिश्रमकि तोक्न माग गर्नुभयो । कार्कीले नीति बनेपनि कार्यान्वयन हुन नसक्दा श्रमिकहरु समस्यामा परेको बताउनुभयो । मजदुरहरुका लागि नेपालमा पटकपटक विभिन्न कानुन बनेपनि कार्यन्वयनको पाटो अन्त्यन्तै फितलो हुदाँ श्रमकिहरुले भनेजस्तो ज्याला पाउन नसकेको जिकिर गर्नुभयो ।

यस्तै अन्टुफका प्रदेश ईन्चार्ज रामदिप आर्चायले वास्तविक श्रमिकहरु अझै ओझेलमा परेको बताउँदै उहाँले ट्रेड युनियनमा बहुसंख्यक श्रमिकहरुको विश्वास नहुन दुखद भएको औल्याउनुभयो । वास्तविक श्रमिकहरुलाई हक अधिकारका बारेमा थाहा नभएको भन्दै श्रमिकहरुका अधिकारकालागि स्थापना भएका ट्रेड यूनियनहरु राजनीतिसंग आवद्ध भएका कारण मजदुरहरुका मुद्धा ओझेलमा परेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिफन्टका कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले वास्तवीक श्रमीकको हक अधिकारका लागि सरोकार वाला पक्षहरु सग निरन्तर आवाज उठाउदा पनि कार्यन्वयन पक्ष सुस्त हुदा मजदुरहरु समस्यामा परेको बताउनुभयो ।

फोटोः अजय बर्माको फेसबुकबाट