कालिकोटमा राष्ट्रिय विद्युत प्रशारण लाइन पुर्याउन मुख्यमन्त्रीको निर्देशन



३ भाद्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही साताव्यापी जिल्ला भ्रमण सकेर प्रदेश राजधानी सुर्खेत फर्कदै गर्दा उहाँ चढेको गाडि दैलेखको टुनीवगरमा रोकियो । गाडीवाट झरेर मुख्यमन्त्री शाही सरासर बाटो छेउमै रहेको टीनले बारेको खाजा पसल छिर्नुभयो ।

राकमबजारमा खाना खानुभएका मुख्यमन्त्री शाही टुनीवगरको खाजा पसलमा छिर्दा उहाँ संगै अन्य गाडिमा सवार नेता कार्यकर्ता विच के भएको भनेर कानेखुशी चल्यो । मुख्यमन्त्रीका स्वकीय सचिवले सानो भेटघाट रहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री खाजा पसल रहँदा केहीबेर मै नेपाल विद्युत प्राधिकरणको दैलेख कालिकोट विद्युत प्रशारण लाईन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र चौधरी सहितको टोली पनि सोही पसलमा आइपुग्नुभयो । अनि शुरु भयो कालिकोट जुम्ला विद्युत प्रशारण लाईन विस्तारको प्रगतिको अवस्थाको बारेमा छलफल ।

छलफलमा आयोजना प्रमुख चौधरीले विद्युत प्रशारण लाईन विस्तारको कार्य तिव्रताका साथ अघि बढेको र विचमा पर्ने केही रुख कटान तथा कालिकोट सदरमुकाम मान्ममा सवस्टेशन निर्माणको लागि जग्गा प्राप्तिको समस्या रहेको जानकारी दिनुभए लगत्तै मुख्यमन्त्री शाहीले कालिकोटका प्रमुख जिल्ला अधिकारी र खाडाचक्र नगरपालिकाका नगरप्रमुखलाई टेलीफोन गरेर सवस्टेशनको लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।

रुख कटान सम्वन्धि समस्या हल गर्न पनि आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री शाहीले ६ महिनाभित्रै कालिकोटमा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा उपलब्ध गराउन आयोजना प्रमुख चौधरीलाई निर्देशन दिनुभयो ।

छलफल पछि आयोजना प्रमुख चौधरीले सवस्टेशन निर्माणको कार्य जारी रहँदा पनि ११ केभिए क्षमताको विद्युत सेवा उपलब्ध गराउन सकिने बताउदै ६ महिना भित्र कालिकोट सदरमुकाम मान्ममा वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कर्णाली करिडोरमा धमाधम चलिरहेको लाईन विस्तारको कामले पनि मुख्यमन्त्री शाही उर्जामन्त्री हुँदा कर्णालीका दुर्गम जिल्लाहरुमा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा पुर्याउन गरेको पहलले सार्थकता पाउदै गरेको देखिएको छ ।