
७ कार्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोइलीमा अवस्थित नेपालको एकमात्र संरक्षित वन काँक्रेविहारमा आज उपराष्ट्रपति नन्दबहादुर पुनले अवलोकन गर्नुभएको छ ।
जुम्ला जिल्लाको सिँजामा एक कार्यक्रममा सहभागी हुन जाने सिलसिलामा उपराष्ट्रपति पुन आज सुर्खेत आइपुग्नुभएको हो ।

उपराष्ट्रपति पुनलाई काँक्रेविहारको बारेमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल र ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिनुभएको थियो ।
उपराष्ट्रपति पुनले कर्णाली प्रदेशमा आउँदा आफूलाई गौरव लागेको त्यस्मा पनि सिँजा सभ्यता संग जोडिएको काँक्रेविहारको अवलोकन गर्दा पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।
पत्रकार संग संक्षिप्त कुरा गर्दै उपराष्ट्रपति पुनले सिँजा सभ्यता संग जोडिएको इतिहास भत्किएको थियो अब यो काँक्रेविहार जागेको छ अब फेरी संसारमा नेपालको सिँजा सभ्यताको बारेमा चिनारी हुने बताउनुभयो ।
आफ्नो भ्रमणको उद्देश्य कर्णाली प्रदेशको पर्यटन प्रवर्धन समृद्धि एवं प्रदेशले गर्ने विकासको कामकालागि सहयोग पुग्ने उपराष्ट्रपति पुनले बताउनुभयो ।
उपराष्ट्रपति पुनलाई वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो भने कर्णाली प्रदेश प्रमुख दुर्गाकेसर खनाल पनि सहभागी हुनुहुन्थ्यो ।





Prawash Kumar Shakya । ७ कार्तिक २०७६, बिहीबार १८:२७ बजे