सरकारी हाकिमका कुर्सीमा टावल नराख्न पत्राचार


अशोक पोखरेलले अघिल्लो बुधबार हेलो सरकारलाई ट्वीटरमा मेन्सन गर्दै सोधे-सरकारी कार्यालयका कुर्सीका पछाडि किन तौलिया (टावल) राखिएको हुन्छ? यो सरकारी बजेटबाट खरिद गरिन्छ कि कर्मचारीले आफैं ल्याउछन्?

पोखरेलको प्रश्नमा हेलो सरकारले तीन दिनपछि जवाफ दियो-सरकारी कार्यालयमा कुर्सीमा राखिएको टावल अशोभनीय देखिने हुँदा उचित स्थानमा राख्ने व्यवस्था गर्न सबै मातहत निकायमा शीघ्र आवश्यक निर्देशन दिन भनी सबै प्रमुख निकायमा पत्राचार गरिएको छ।

हेलो सरकारले टावल खरिद नगर्नभन्दा पनि कुर्सीमा नराख्न निर्देशन दिन पत्राचार गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गत रहेको हेलो सरकारका कामकारबाही हेर्दै आएका उपसचिव प्रद्युन्नप्रसाद उपाध्यायले मन्त्रालय, केन्द्रीय निकायहरूलाई कुर्सीमा टावल नराख्न आइतबार पत्राचार गरिएको बताए।

‘गुनासालाई हामीले तत्कालै समाधान गर्ने गरी मन्त्रालय र केन्द्रीय निकायलाई पत्राचार गरिसकिएको छ। यसबारे ती निकायले हामीलाई पनि जवाफ पठाउलान्। पत्रउपर केही न केही कारबाही होला’ उपसचिव उपाध्यायले सेतोपाटीसँग भने,’कम्तिमा कुर्सीमा टावल राख्ने कार्यमा सुधार आउँछ। अशोभनीय देखियो।’

अहिले मन्त्रालयदेखि स्थानीय तहका शाखा सम्हालेका हाकिमहरूको कुर्सीमा एउटा टावल राखिएको हुन्छ। नेपालमा कसले र कहिलेदेखि के प्रयोजनका लागि कुर्सीमा टावल राखिएको भन्ने एकिन छैन। तराई क्षेत्रमा गर्मी हुने हुँदा पसिना पुछ्न र पहाडी भेगमा रहेका कार्यालयमा मुख धोइसकेपछि मुख पुछ्न टावलको प्रयोग गरिन्छ।

‘टावल खरिद रोक्न होइन, कुर्सीमा नराख्न निर्देशन दिइएको हो’ उपाध्यायले भने, ‘मुख धोइसकेपछि पुछ्न तथा पसिना पुछ्न त टावल चाहियो नि। तर त्यसलाई कुर्सीमा होइन बाथरूममा राख्नुपर्‍यो।’

देशमा अहिले ७६१ सरकार छन्। यी सरकारका सबै मातहतका कार्यालय तथा शाखा सम्हालेका कर्मचारीका कुर्सीमा टावल हुन्छन्। कर्मचारी सरुवा भएपछि नयाँ आउने कर्मचारी बस्ने कुर्सीमा नयाँ टावल नै राखिने गरिएको पाइन्छ। प्राय:टावल धोएर प्रयोग गरिँदैनन्।

पत्राचारबमोजिम निर्देशन दिएको जानकारी सम्बन्धित निकायले हेलो सरकारलाई गराउनुपर्छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले हेलो सरकारको पत्राचारबमोजिम सबै मन्त्रालयले र विभागले टावल हटाउन निर्देशन दिनुपर्ने बताए।

‘हेलो सरकारले पठाएको पत्र हेरेपछि कुर्सीबाट टावल हटाउन मातहतका निकायलाई निर्देशन दिन्छौं,’ अधिकारीले भने,‘कुर्सीमा टावल राख्नु राम्रो होइन भन्ने कुरा पहिलादेखि नै उठिरहेकै थियो। अब कार्यान्वयन हुन्छ।’

केही वर्षदेखि एट्याच बाथरूमसहितका सरकारी कार्यालय प्रयोग आइसक्दा पनि कुर्सीमै टावल राख्ने प्रयोगमा सुधार हुन सकेको छैन।

साभारः सेतोपाटी ।