शिक्षकहरुसँगै माग्छन बिद्यार्थीहरु स्यानेटरी प्याड


 ४ मंसीर, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार स्यानेटरी प्याड विद्यालयमा उपलब्ध गराएको छ ।

विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्ष देखि विद्यालयमा छात्रा विश्राम कक्षको व्यवस्था गरिदिएको गाउँपालिकाले हाल सम्म १० हजार पाँच सय स्यानेटरी प्याड वितरण गरेको हो ।

छात्राहरुको विद्यालयमा अनुपस्थित हुने दरमा कमी ल्याउन यो कार्यक्रम प्रभावकारी देखिएपछि विद्यालयको आवश्यकता अनुसार स्यानेटरी प्याड वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको लागि गाउँपालिकाले आफ्नो पालिकाका सबै माध्यमिक विद्यालयमा पुगेर सात हजार प्याड वितरण गरेको हो । पाँच वटा मावि रहेको कपुरकोटमा एउटा विद्यालयमा एक हजार चार सय पिस प्याड वितरण गरिएको दाहालले जानकारीदिनुभयो । गत आर्थिक वर्षमा एक विद्यालयमा ७ सयको दरले ३ हजार ५ सय प्याड वितरण गरिएको थियो ।

सुरुमा छात्राहरुले प्याड मागेर प्रयोग गर्न केहि असजिलो मानेपनि हिजो आज महिनावारिको बारेमा छात्राहरु खुलेर कुरा गर्न सक्ने भएको र चाहिएको बेला प्याड माग्ने गरेको विद्यालयले जनाएको छ ।

वीरेन्द्र माध्यमिक विद्यालय गर्पाका प्रधानाध्यापक डिल बहादुर नेपालिले महिला शिक्षक नभएको बेला सरहरु संग पनि छात्राहरुले प्याड मागेर प्रयोग गर्नेगरेको बताउनुभयो  ।

यस्तै हाल सम्म भवानी माध्यामिक विद्यालय सिनवाङ, छाँयानाथका १ सय २० भन्दा बढी छात्राहरुले प्याड प्रयोग गरेको शिक्षिका मिना घर्तीले जानकारीदिनुभयो । तर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरका निमित्त प्रधानाध्यापक दामोदर शर्माले स्थानीय सरकारले निःशुल्क प्याड वितरणमा मात्रै भन्दा पनि प्याड निर्माण गर्न समेत सिकाउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो विद्यालयमा उपलब्ध गराइएको स्यानेटरी प्याड स्कुल आउदा समस्या भएमा प्रयोग गर्ने हो, छात्राहरु घर बस्दा गाउँमा प्याड उपलब्ध नहुन सक्छ । यस्तो अवस्थामा किशोरीहरुलाई प्याड निर्माणको लागि पनि कार्यक्रम बनाउनुपर्छ ।’ यस्तै कालिका मावि कपुरकोटका प्रअ चुडामणि केसीले आधारभुत तहका विद्यालयमा अध्ययन गर्ने कक्षा ६, ७ र ८ कक्षाका छात्राहरुलाई पनि प्याड उपलब्ध गराउनुपर्ने बताउनु भयो  ।

बुधबार गाउँपालिकामा आयोजित प्याड वितरण कार्यक्रममा कपुरकोट ३ का वडाध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुन लगाएतले बोल्दै विद्यालय गइरहेका किशोरीहरूको स्वास्थ्य र शिक्षामा यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गर्नुभयो ।

महिनावारी र त्यो बेला गर्नुपर्ने सरसफाइ र स्वास्थ्यका लागि अझ धेरै काम गर्नुपर्ने आवश्यकता रहेको सिनियर अ.हे.व देवेन्द्र कुमार सेनको भनाई छ । विद्यालयहरूमा प्याड प्रयोग गरेपछि फाल्ने स्थान र अन्य प्रबन्ध नहुँदासम्म यो कार्यक्रमले जुन उदेश्य लिएको छ, त्यो पुरा हुन नसक्ने भएकाले सम्बन्धीत विद्यालयहरुलाई यस विषयमा जिम्मेवार पुर्वक व्यवस्थापनको पाटोमा काम गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।