मानव तस्करीमा तानिए माओवादीका ८ सांसद


05072016093421Maoist-1000x0असार २२, २०७३- सांसद         नाम थपिएका सहयोगी
गोमा कुँवर         भरत दनुवार
डोरप्रसाद उपाध्याय     सहदेव थापा
सिर्जना खत्री         अदिना गुरुङ
सन्तकुमार थारू     देवेन्द्रप्रसाद साह
रूपा महर्जन श्रेष्ठ     लोकमान गुरुङ
राममाया बोगटी     तेन्डोमा शेर्पा
दिलमाया धामी     पंकज गुरुङ
धना पहरी         खड्गबहादुर राई

…………
मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो । अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् ।

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध ब्यक्तिको नाम थपेको विषयमा केन्द्रिय अनुसन्धान ब्युरोले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, श्रृजना तमारु खत्री, सन्तकुमार थारु, रुपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगडी बढाएको हो ।

संसद सचिवालयको अन्तराष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भिषा सिफारिस पत्रको आधारमा कन्सुलर सेवा विभागले उनीहरूको नाममा सिफारिस पत्र दिएको थियो । संसद सचिवालय र विभागको पत्रमा सांसदको मात्रै नाम सिफारिस थियो । तर, स्पेनका लागी भिषा आवेदन गर्दा सबैको पत्रमा ब्यक्तिगत सहयोगीको रुपमा एक(एक जनाको नाम थपिएको थियो ।

कान्तिपुरले प्राप्त गरेको कन्सुलरको पहिलो पत्रमा कुटनीतिक राहदानीको नम्बरसहित स्पेन जाने सभासदको नाम, कार्यक्रम र कार्यक्रमको अवधि उल्लेख छ । दुतावासमा भिषाका लागि पुगेको कन्सुलरको पत्रमा भने सांसदको नाम, कार्यक्रम र कार्यक्रमको अवधिसँगै सांसदसँगै अन्य एक जनाको नाम समेत थपिएको छ ।

सांसद कुँवरको भिषा सिफारिस पत्रमा भरत दनुवारको नाम थपिएको छ । उपाध्यायको पत्रमा सहदेव थापा, खत्रीको पत्रमा अदिना गुरुङ र थारुको नाममा जारी भएको पत्रमा देवेन्द्रप्रसाद साहको नाम थपिएको छ । श्रेष्ठको पत्रमा लोकमान गुरुङ, बोगटीको पत्रमा तेन्डोमा शेर्पा, धामीको पत्रमा पंकज गुरुङ र पहारीको पत्रमा खड्गबहादुर राईको नाम थपिएको छ । पत्रमा थप गरिएको सबैको पद सांसदको नीजि सहयोगी उल्लेख छ ।

स्रोतअनुसार विभिन्न कार्यक्रममा सहभागी हुन सांसदको कुटनीतिक राहदानी र सहयोगीको नाममा सामान्य राहदानीमा भिषा आवेदन भएपछि भारतस्थित स्पेनी दुतावासले शंका लागेर त्यसबारे कन्सुलर विभागलाई सोधेको थियो । विभागले भिषा आवेदनमा पेश भएको पत्र र आफूले सिफारिस गरेको पत्र भिडाउदा नाम थपिएको पत्ता लागेको हो । त्यसपछि कीर्तेको जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको हो ।

सुरुमा यसबारे अपराध अनुसन्धान विभाग (सिआइडी) ले अनुसन्धान थालेको थियो । कन्सुलर शाखा स्रोतका अनुसार केही दिनअघि सिआइडीका एसपी जगतमान श्रेष्ठसहितको प्रहरी टोली त्रिपुरेश्वरस्थित कन्सुलर कार्यालय पुगेर ती सांसदको सिफारिस पत्र लगायत कागजात लिएर गएको थियो ।

प्रारम्भीक अनुसन्धानमा पत्र किर्ते गरी मानवतस्करीमा सांसदको संलग्नता देखिएपछि सिआइडीले सोमबार अनुसन्धानसँग सम्बन्धित सबै कागजात ब्युरोमा पठाएको थियो । ब्युरो स्रोतका अनुसार त्यसपछि टोली गठन गरी अनुसन्धान अगाडि बढाइएको छ ।

कन्सुलर शाखामा गएर पत्र ल्याएकोबारे सोद्धा एसपी श्रेष्ठले भने, ‘यसबारे मलाई जानकारी छैन ।’ यसबारे कन्सुलर गणेश ढकालसँग जिज्ञासा राख्दा उनले पनि ‘जहाँबाट सूचना पाउनुभएको हो उतै सोध्नोस्’ भन्दै फोन काटिदिए ।

सभासदको नाममा जारी भएको संसद सचिवालयको सिफारिस पत्रका हस्ताक्षरकर्ता शाखा अधिकृत गोपाल सिग्देलले ‘विदेशमा हुने कार्यक्रममा सहभागी हुन आएको निम्ता सहित सभासद्बाट निवेदन आएपछि कन्सुलर विभागलाई सिफारिस पत्रका लागि पत्र पठाउने’ गरेको जानकारी दिए । तर त्यसपछिको अवस्थाबारे शाखालाई कुनै जानकारी नहुने उनले जनाए । ‘सांसदले सिफारिस पत्र मागेपछि पत्र लेखिदिन्छौं, पत्रपछि भिषा लाग्यो/लागेन शाखाले फलोअप गर्दैन’ उनले भने, ‘सांसदहरूले जानकारी पनि दिनुहुन्न ।’

सांसदमाथिको छानविनबारे केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले भने, ‘यस विषयमा म बोल्दिनँ ।’

भिन्न कार्यक्रम, एकै मिति

स्पेनबाट ती सांसदलाई निम्ता गरिंदा बेग्ला बेग्लै मितिका कार्यक्रममा भाग लिन बेग्ला बेग्लै संस्थाबाट बोलाइएको थियो । कान्तिपुरलाई प्राप्त आठै पत्र अनुसार सांसद कुंवरले २८ जुनदेखि १ जुलाईसम्म स्पेनमा आयोजना हुने ‘इन्टरनेशनल इन्टिच्युट अफ सोसल एन्ड इकोनोमिक साइन्स’को कार्यक्रममा सहभागी हुन आवेदन दिएकी थिइन् । उपाध्याय र बोगटीले २९ जुनदेखि १ जुलाईसम्म आयोजना हुने ‘एन्टी माइक्रोबायल रिसर्च (सुक्ष्म जिवाणु अध्ययन)’ सम्बन्धी कार्यक्रममा भाग लिन निवेदन दिएका थिए । खत्री र श्रेष्ठ २८ जुनदेखि १ जुलाईसम्मको ‘टिचिङ एन्ड एजुकेशन’ कार्यक्रम, थारुले ११ जुलाईदेखी १३ सम्म आयोजना हुने ‘इन्टरनेशनल रिन्युवेबल इनर्जी एन्ड इन्भायोरोमेन्ट कन्फ्रेन्स’मा जान निवेदन दिएका थिए । धामी र पहरीले जुलाई २१ देखि २४ तारिखसम्म आयोजना हुने भाषासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आवेदन दिएका थिए ।

उनीहरूले दिएको निवेदनको आधारमा शाखाले २०७३ जेठ २३ मा भिषा सिफारिसका लागि कन्सुलर सेवा विभागमा पत्र पठाएको थियो । उनीहरूले भिन्न(भिन्न कार्यक्रममा सहभागी हुन निवेदन दिए पनि संसद सचिवालयले कन्सुलर विभागलाई जेठ २३ गते सबै सिफारिसपत्र एकैसाथ पठाएको थियो । शाखाको पत्रको आधारमा कन्सुर विभागले ५ जुनमा ‘जो जससँग सम्बन्धित छ’ भन्ने पत्र लेख्दै भिषाका लागि सिफारिस गरेको थियो ।

कोही अक्मकाए, कसैले स्विकारे
‘तेन्डोमा शेर्पालाई चिन्नुहुन्छ ?’ कान्तिपुरको जिज्ञासामा सांसद राममायाले पहिला भनिन्, ‘चिन्दीनँ ।’ लगत्तै ‘स्पेन जान बनाउनुभएको पत्रमा त शेर्पा तपाइको सहयोगी भनिएको छ नी’ भनी सोद्धा उनले भनिन्, ‘ए त्यो त सँगै जान मिलाएका हौं, अरु साथीहरू पनि हुनुहुन्छ ।’

भिषाका लागि कागजपत्र मिलाउने प्रकृयामा अर्कै ब्यक्तिले सघाएको जानकारी दिँदै उनले भनिन्, ‘जाने भन्ने थियो, तर अहिलेसम्म जानकारी आएको छैन ।’ अनुसन्धानको दायरामा तानिएका ८ मध्ये सृजना खत्रीसँग सम्पर्क हुन सकेन । सम्पर्कमा आएका राममायासहितका ७ जना सभासद्मध्ये कतिले पत्रमा नाम थपिएको ब्यक्ति पिए नै भएको दावी गरे भने कतिले पहिला पिए नै हो भनिसकेर पनि पछि ‘होइन’ भने । दिलमाया धामीले भने पिएका रुपमा सिफारिस गरिएका पंकज गुरुङलाई ‘चिन्न पनि सक्छु, चिन्न पनि सक्दिनँ’ भनिन् । उनले आफ्नो पिए भने छोरा विकाश धामी भएको बताइन् ।

७ जना सभासद्ले सहयोगीमार्फत भिषा प्रकृया अगाडि बढाएको खुलाए । सांसद राममाया र धनाले ‘रोहितले स्पेन जाने भए भिषा मिलाइदिन्छु’ भन्ने प्रस्ताव ल्याएको र आफूलाई अरु केही थाहा नभएको बताए । अन्य सांसदले कसैले अर्को सांसदको भाईमार्फत प्रकृया अगाडि बढाएको बताए भने कतिले आफ्नै मित्रमार्फत प्रकृया अगाडि बढेको दावी गरे ।

सांसद रुपा महर्जन श्रेष्ठका अनुसार उनका सहयोगी रामशरण डंगोल हुन् । स्पेन जाने पत्रमा नाम थपिएका लोकमान गुरुङलाई स्पेन जानका लागि मात्रै पिए बनाएको उनले बताइन् ।  विदेश जादा सहयोगी पनि फेरिन्छन् र ? भन्ने जिज्ञासामा उनको जवाफ थियो, ‘राख्न सकिन्छ नी ।’ उनले कन्सुरल विभागबाट आएको पत्र आफुले हेरेको र त्यसमा दुबै जनाको नाम रहेको दावी गरिन् ।

सभासद् धन पहरीले सुरुमा खड्गबहादुर राई आफ्नो पिए भएको बताइन् । तर स्पेन जाने भिषाका लागि आवेदन दिएको हो भन्ने संवाददाताको जिज्ञासापछि उनले भनिन् ‘खै के ढाट्नु भाई त्यो खड्ग भन्ने मेरो पिए हैन है ।’ उनले रोहित भन्ने ब्यक्तिले स्पेन जाने प्रस्ताव ल्याएको र उनैले सबै प्रकृया अगाडि बढाएको बताइन् । ‘स्पेन जाने भए म मिलाइदिन्छु, सजिलै भिषा लाग्छ भनेर रोहितले भनेपछि लौ त जाउ भनेर राजी भएको हो उनले बताइन् । ‘उसको पूरा नाम पनि थाहा छैन, तिनीहरूले के(के मिलाए त्यो पनि थाहै भएन,’ उनले भनिन् ।

अर्का सांसद सन्तकुमार थारुले पनि स्पेन जान उनीसँगै नाम सिफारिस भएको देवेन्द्रप्रसाद साहलाई नचिनेको दावी गरे । सांसद जानकी साउदको भाइ मार्फत आफूले स्पेन जाने प्रकृया अगाडि बढाएको उनले बताए ।

सांसद गोमा कुँवरका अनुसार उनको ब्यक्तिगत सहयोगी वीरबहादुर कुँवर हुन् । स्पेन जाने पत्रमा सहयोगी भनिएको भरत दनुवारलाई आफूले नचिनेको उनले दावी गरिन् । स्पेन जाने भिषाका लागि पाटन अस्पताल पछाडिको एक कार्यालयमा गएर सबै कागजपत्र बुझाएको उनले बताइन् ।

सांसद डोरप्रसाद उपाध्यायले भने यसबारे ‘आफूले पनि बुझिरहेको’ बताए । विश्वास गरेर केही साथीमार्फत स्पेन जाने प्रकृया अगाडि बढाएको र कन्सुलरको पत्रमा सहयोगीको रुपमा नाम राखिएका सहदेव थापासँग आफ्नो चिनजान समेत नभएको उनले बताए । स्पेन जाने प्रकृयामा सघाउने साथी को हुन् भन्ने जिज्ञासामा उनले भने ‘हाम्रै साथीहरू हुन्, पछि भनौला नी ।’

धामीले पनि रोहित भाइमार्फत् स्पेन जान प्रस्ताव आएको र अन्य माननीयहरूले जाउँ जाउँ भनेर कर गरेकाले कागजपत्र दिएको बताइन् । भिषा किन नआएको भन्ने प्रश्नमा उनले भनिन्, ‘खोई, म के भनुँ ?’

साभारः कान्तिपूर अनलाइन