समता लघुवित्तद्धारा पहिलो पटक भिडियो कन्फ्रेन्स मार्फत सञ्चालक समितिको बैठक सम्पन्न


मिलन श्रेष्ठ
सुर्खेत, १९ चैत । विश्वव्यापी महामरीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामको लागि नेपाल सरकारद्धारा गरिएको देशव्यापी लकडाउनलाई समर्थन गर्दै भौतिक रुपमा उपस्थित नभई डिजिटल प्रविधि मार्फत समता लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको ८९ औ बैठक संस्थाका अध्यक्ष डम्मरमणी थेवे लिम्वुको अध्यक्षतामा सम्पन्न गरेको छ । लघु वित्तीय क्षेत्रको इतिहासमा सम्भवत् यो पहिलो डिजिटल बैठक हो ।

हालको बर्तमान अवस्थाको बारे विश्लेषण गर्दै यसले लघुवित्त क्षेत्रमा पारेको प्रभाव र संस्थाको वर्तमान तथा भावि संचालन का साथै कार्यक्रमगत रणनीति बारे गहन छलफल गर्न यो बैठक केन्द्रीत रहेको संस्थाकोे प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरेले बताउनु भयो । आजको बसेको बैठकले यस महामारीको रोकथामको लागि स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने निर्णय समेत गरेको उहाँले बताउनु भयो ।

कम्पनीमा कार्यरत कर्मचारीहरुमा हुन सक्ने संक्रमणलाई मध्यनजर गर्दै फिल्ड गतिविधीहरुलाई तत्कालै रोकेको र कार्यालयहरुमा समेत swift-wise work र work from home लगायतको व्यवस्था अवलम्वन गर्दै आइरहेको संस्थाक प्रवन्धक तथा कम्पनी सचिव विश्व श्रेष्ठले बताउनु भयो ।

संस्थाले संचालक समितिको बैठक सम्वन्धी नियमावलीमा संशोधन गर्दै विधुतीय प्रविधिको माध्यमद्धारा भिडियो कन्फरेन्स मार्फत संचालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो । सिमरा, बारा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त संस्थाले हाल २४ वटा शाखा कार्यालयहरु मार्फत लघु वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ भने संस्थाको हाल कूल चुक्ता पूँजी रु १९ करोड ११ लाख, लगानीमा रहिरहेको कर्जा रु १ अर्व ६७ करोड र निक्षेप रु ६४ करोड रहेको संस्थाले जानकारी दियो ।