वीरेन्द्रनगरको ९ न‌ं. वडाको शत्तेकाँडामा हेल्पडेक्स स्थापना


२१ बैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई रोकथाम र नियन्त्रण गर्नकालागि वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयले आज शत्तेकाँडामा हेल्पडेक्सको स्थापना गरेको छ ।

वडाले भेरी नदी तरेर वीरेन्द्रनगर तर्फ आउने वडाको शत्तेकाँडा नाकामा हेल्पडेक्सको स्थापना गरेको हो । छिमेकी जिल्ला बाँकेबाट हिडेर आउने नाका शत्तेकाँडामा कोरोना भाइरसको रोकथाम र नियन्त्रणकालागि हेल्पडेक्सको स्थापना गरेको वडा सुरेश मानन्धरले बताउनुभयो ।

अध्यक्ष मानन्धरका अनुसार आजै भारतबाट आइ होम क्वारेन्टाइनमा बसेका ११ जनाको स्वास्थ्य चौकी लाटीकोइलीका डाक्टर कृष्णदेव गिरी र स्वास्थ्यकर्मी रामलिला बमको टोलीले स्वास्थ्य जाँच पनि गरेको छ । “हामीले वडामा रहेका विभिन्न टोल विकास संस्थाका अध्यक्ष एवं होम क्वारेन्टाइनमा बसेकाहरुलाई डाक्टर कृष्णदेव गिरीले स्वास्थ्य सम्बन्धी जानकारि पनि दिनुभएको छ ।” अध्यक्ष मानन्धरले भन्नुभयो ।

त्यस्तै ९ नं. वडाले वडामा रहेका बाँझो जग्गामा कोरोनाको महामारीले भोकमरी निम्त्याउन सक्ने स्थितीलाई मध्यनजर गर्दै खेती गर्न अनुरोध गरेको छ । साथै खेती गर्न नसक्ने जग्गाहरुमा वडाले समन्वय गरी खेती गर्ने निर्णय गरेको अध्यक्ष मानन्धरले बताउनुभयो ।