
१ साउन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतका चिकित्सक डा. नवराज के.सी.ले आफ्नो छिमेकी किसानको ऋण तिरिदिनुभएको छ ।
कोरोना भाइरस कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रण कार्यमा काम गरिरहनुभएका कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बालरोग विषेशज्ञ डा. नवराज के.सी.ले प्रदेश सरकारले उपलब्ध गराएको प्रोत्साहन भत्ताले छिमेकीले भैसी खरिद गर्दा लागेको ऋण तिरिदिनुभएको हो ।
डा. के.सी. वीरेन्द्रनगर १ सुर्खेतका स्थानीय निवासी हुनुहुन्छ । उहाँ भन्नुहुन्छ । “मेरो लागि दुर्गम् वा सुगम होइन कर्णाली, मेरो घर हो, तेसैले यो भत्ता आफ्नो लागि लिन अलिकती गाह्रो लाग्यो, सरकारलाई धन्यवाद दिँदै तिर्ने समस्यामा रहनुभएका छिमेकी किसान कृष्णबहादुरको ऋण तिरदिएको हुँ ।” उहाँ प्रश्न गर्नुहुन्छ “बैंकहरु सधैं नाफामा रहिरहदा मेहिनेती कृष्णबहादुर जस्ता तिनै बैंकका सेवाग्राहीहरुले पनि नाफाको अनुहार देख्न पाउने बैंकिङ्ग व्यवस्था कहिले आऊला?
डा. के.सी. विभिन्न समयमा चिकित्सकिय सेवा बाहेक अन्य सामाजिक सेवामा पनि त्यतिकै नै खटेर लाग्दै आउनुभएको छ । उहाँले सुर्खेतको तरंगामा “न्यानो सुर्खेत अभियान” अन्तरगत १ सय ५० जनाभन्दा बढी बालबालिकाको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरण संगै ४९ जना विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको थियो भने वीरेन्द्रनगर सुर्खेतलाई सफा र सुन्दर बनाउनका लागि ‘क्लिन सुर्खेत, ग्रीन सुर्खेत’ अभियान पनि संचालन गर्नुभएको थियो ।




Prawash Kumar Shakya । १ श्रावण २०७७, बिहीबार १६:३४ बजे