सोमबार रातिदेखि मध्य र सूदूरपश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना


नदीमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अप्नाउन आग्रह

असार २७, २०७३- जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार रातिदेखि सुदुर र मध्य पश्चिमी क्षेत्रका पहाडी, हिमाली र तराईका भागमा भारी वर्षा हुने अनुमान गरेको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठले तिब्बतीय क्षेत्रबाट मनसुनी प्रणाली नेपालतिर भित्रिरहेकाले उक्त क्षेत्रमा रातिदेखि भारी वर्षा हुने बताए ।

नेपालसहित तिब्बती भू–भागसम्मै भारी वर्षा हुन गई सुदुर र मध्य पश्चिमी क्षेत्रका जलाधार र नदी प्रणालीमा पानीको सतह बढ्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा सचेत गराएको छ । ‘ठूला र साना नदीहरूमा पानीको सतह बढ्ने सम्भावना रहेकाले सतर्क हुनुपर्ने देखिन्छ,’ उनले भने । मध्य र पूर्वी भागमा भने हिमालीबाहेकका क्षेत्रमा सामान्य वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको ‘बाढी भविष्यवाणी शाखा’ले मेचीदेखि महाकालीसम्मका ४२ वटा नदी प्रणालीमा मनसुन सुरु भएदेखि नै नदीको अनुगमन गर्दै आएको छ । आईतबारदेखि सोमवारसम्म पनि सूदूरपश्चिम र मध्यपश्चिमक्षेत्रमै बढी वर्षा भएको छ ।

साभारः कान्तिपूर अनलाइन