केसी-सरकार वार्ता निष्कर्षविहीन


  • अनशनको १३ औं दिन, केसीको घाँटीमा समस्या

22072016090008DR_GKC_13TH_DAY_HUNGER_STRIKE_009-1000x0श्रावण ७, २०७३- स्वास्थ्य शिक्षा र सेवामा सुधारका माग राखेर १३ दिनदेखि आमरण अनशन गरिरहेका प्रा.डा.गोविन्द केसी पक्ष र सरकारबीच शुक्रबार भएको दोस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ । वार्तामा गतिरोधसमेत देखिएको छ ।

‘हामी प्रक्रियामा नै छौं, वार्ता हिजोभन्दा खासै अगाडि बढेको छैन,’ वार्तामा संलग्न केसीका प्रतिनिधि डा.जीवन क्षत्रीले भने, ‘हामीहरू सघन छलफलमा छौं ।’ सरकारी वार्ता टोलीका संयोजक स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले पनि वार्ता निष्कर्षमा नपुगेको बताए । सरकारी टोलीले विज्ञहरूको थप सल्लाहका लागि वार्ता रोकिएको बताइएको छ ।
‘हिजो जहाँ वार्ता थियो आज त्यहीं अडिएको छ,’ वार्तामा संलग्न एक सहभागीले कान्तिपुरसँग भने, ‘आजको छलफल हेर्दा भोलिसम्ममा कुनै उपलब्धि आउने सम्भावना देखिँदैन, कुनै चमत्कार भए मात्र केही होला ।’
बिहीबार र शुक्रबार दुई दिन चलेको वार्तामा केसीले उठाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसदमा महाअभियोग लगाउने विषयले प्रवेशसमेत पाएको छैन । यो माग संसदसँग सम्बन्धित भएको भन्दै पन्छाइएको छ ।

केसीको घाँटीमा समस्या 
आमरण अनशनको १३ औं दिन डा. केसीको घाँटीमा समस्या देखिएको छ । बिहीबार साँझदेखि नै घाँटी बिगि्रने समस्या देखिएको हो । शुक्रबार उनको मुटुको चालसमेत असामान्य देखिएको छ । यसअघि नै उनमा टाउको, छाती र जीउ दुख्ने तथा मांसपेशी बाउँडिने समस्या देखिइसकेको छ । उनको रक्तचाप कम भएको छ ।
‘हामी उहाँको स्वास्थ्यस्थिति स्थिर राख्ने प्रयास गर्दैछौं,’ उपचारमा संलग्न प्रा.डा.दिव्या सिंह शाहले भनिन् । उनले केसीलाई फेरेन्जाइटिस भएको तर ज्वरो भने नभएको बताइन् । केसीलाई निरन्तर अक्सिजन दिएर राखिएको छ । उहाँको रगतमा पोटासियम, क्याल्सियम, म्याग्नेसियमको कमी देखिएको छ ।

केसीलाई कलाकारको समर्थन
अनशनरत डा. केसीको पक्षमा कलाकारहरूले समर्थन गरेका छन् । शुक्रबार अनशनस्थल शिक्षण अस्पताल पुगी कलाकारहरू रेखा थापा, ऋचा शर्मा, निश्चल बस्नेत र केकी अधिकारी लगायतले केसीको मागप्रति ऐक्यबद्धता जनाएका थिए । साथै उनीहरूले शनिबार बिहान काठमाडौंमा केसीको समर्थनमा गर्न लागिएको र्‍यालीमा पनि सहभागी हुने जनाएका छन् ।

साभारः कान्तिपूर अनलाइन