१७ साउन, काठमाडौं । विनाशकारी भूकम्पले भत्किएको धरहरा भव्य रुपमा पुनर्निर्माण हुने भएको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको हो ।
आधुनिक धरहराको स्केच तयार भइसकेको छ । केज कन्सुलेट प्रालि/एमआरबी एण्ड एशोसिएट्सले डिजाइन तयार पारेको हो । सोमबार राजधानीमा एक कार्यक्रमबीच धरहराको स्केच सार्वजनिक गरियो । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।
सरकारले धरहरा ११ तलाको बनाउने भएको छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २१ तलाको हुने आर्किटेक इञ्जिनियर विष्णु पन्थीले बताए । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सिमित भएको थियो ।
धरहरामा भर्याङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुने पन्थीले जानकारी दिए । यो धरहरा बनाउन करीव ३ अर्ब लगानी लाग्ने अनुमान गरिएको छ । तीन वर्षभित्र धरहरा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पार्कसहितको धरहरा २९ रोपनी क्षेत्रफलमा फैलिने पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिए । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा मिलाएर आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागेको उनको भनाई छ । हुलाकलाई चारखालमा स्थानान्तरण गरिने भएको छ ।
भिडियो हेर्नुस्
साभारः अनलाइन खबर



Prawash Kumar Shakya । १७ श्रावण २०७३, सोमबार १३:३८ बजे