कोभिड-१९ को नयाँ भेरियन्टको त्रास बढेसँगै सतर्कता अपनाउन आग्रह


१९ पौष, सुर्खेत । कोभिड-१९ को नयाँ भेरियन्टको त्रास बढिरहेको बेला सुर्खेतमा भने पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह गरिएको छ ।

(आज) बुधवार कोभिड संकट व्यवस्थापन समितिको बैठक बसी जिल्ला प्रशासन कार्यालयले छिमेकी मुलुक भारतलगाएतमा कोभिडको नयाँ भेरियन्ट (वी एफ—७) को भित्रिएको समाचार आइरहेको बेला कर्णालीको प्रवेशद्वार रहेको सुर्खेतमा पुनः स्वास्थ्य सजगता अपनाउन आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिडको नयाँ भेरियन्टको त्रास बढेको बेला पुनः स्वास्थ्य सतर्कता अपनाउन आग्रह गराउनुभयो । हातधुने बानी, मास्क लगाउन, सेनिटाइजरको प्रयोग गर्न छोडिएको, भीडभाड बढेको हुँदा अव पुनः स्वास्थ्य सतर्कता आउनुपर्ने बेला आएको उहाँले जनाउनुभयो । संचारमाध्यमहरुले पनि सूचना र सन्देश प्रसारण गरेर सर्वसाधारणलाई सजग गराइदिन आग्रह गर्दै उद्योगी व्यवसायीहरुले पनि स्वास्थ्य सतर्ककता अपनाएर व्यापार व्यवसाय गर्न सुझाव दिनुभयो ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले कोभिडको जोखिम कम भएका कारण परीक्षण, खोप, बजेटलगायत सवै आवश्यक बस्तुहरु पनि अहिले कम हुँदै गएको जनाएको छ । कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले सुर्खेतमा अहिले ३९० डोज मात्र भेरोसेल खोप भएको जानकारी दिदैं कोभिडको नयाँ जोखिम आएकोले विगतको पूर्वाधार पुनः तयार गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले पनि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

प्रदेश आपूर्ति कार्यालयका प्रमुख डा. शक्ति सुवेदीले कर्णाली प्रदेशभर ४० हजार सिंगल डोज खोप, परीक्षणका लागि २७ हजार थान एन्टिजेन कीट, सवा ३ लाख थान सिर्जकल मास्क र ६० हजार थान एन—९० मास्क, ४७५ थान अक्सिजन सिलिण्डर, ८१ थान अक्सिजन कन्सन्ट्रेटर र २ लाख ट्याव्लेट पारासिटामोल मौज्दात अवस्थामा रहेको जानकारी दिनुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले वीरेन्द्रनगरमा अहिले पनि कोभिड परीक्षण र खोप लगाउने काम भइरहेको बताउनुभयो । उहाँले पनि सवैलाई कोभिडको नयाँ जोखिम आएको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो ।