कर्णालीमा खाद्य संकटको जोखिम


फाल्गुन ६, २०७२( कर्णाली अञ्चलमा खडेरी लगायतका कारणबाट उत्पादन घटेपछि खाद्य संकटको खतरा बढेको छ । यसबारे सभासदहरूले आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएपछि ढुवानी व्यवस्था सहितको कार्ययोजना बनाउन खाद्य संस्थानलाई निर्देशन दिइएको छ ।

खाद्यान्न उत्पादन न्यून भएकाले भोकमरीबाट मुक्त हुने गरी खाद्यान्न पुर्‍याउने ढुवानी व्यवस्थाको कार्ययोजना बनाउन निर्देशन दिइएको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार डोल्पा र हुम्लामा व्यापक समस्या देखिएको छ ।

‘विभिन्न निकायसँगको छलफलमा कर्णाली अञ्चलमा उत्पादनमा व्यापक घटेको कुरा आएको छ,’ मन्त्रालयका सहसचिव दीपक सुवेदीले भने, ‘खाद्यान्नको अभाव हुन नदिन कार्ययोजना बनाउन निर्देशन दिएका छौं ।’ उनका अनुसार खडेरी तथा सुख्खायामका कारणले उत्पादन घटेको बताए ।

‘मन्त्रालय, कर्णालीका प्रतिनिधत्व गर्ने सांसद र विभिन्न संस्थाहरूसँगको छलफलमा उत्पादन ३० प्रतिशत घटेको जानकारीमा आएको छ,’ उनले भने, ‘अभाव टार्न सोहीअनुसार निर्देशन दिएका छौं ।’ कर्णालीको वास्तविक उत्पादनबारे विस्तृत विवरण भने नआएको मन्त्रालयले जनाएको छ ।

कर्णालीको उत्पादनले स्थानीय जनतालाई पनि पुग्दैन । यस वर्ष उत्पादनमा थप गिरावट भएकाले आपूर्ति बढाउनुपर्ने सरोकारवालाहरू बताउँछन् । मन्त्रालयले पनि संस्थानले तयार पारेको कार्ययोजनाअनुसार थप प्रक्रिया अघि बढाइने जनाएको छ । ‘संस्थानले कुनरकुन क्षेत्रबाट कति पुर्‍याउन सकिन्छ भनेर अध्ययन र कार्ययोजना बनाउँछ ।

कार्ययोजना मन्त्रालयमा पेस हुन्छ,’ उनले भने, ‘कार्ययोजना पारित गरेर कार्यान्वयनमा जाने छौं ।’ संस्थानका बिक्री वितरण शाखाका विभागीय प्रमुख श्रीमणिराज खनालले मन्त्रालयको निर्देशनअनुसार कार्ययोजना बनाउन तयारी गरेको बताए । ‘खाद्य संकट पर्न नदिन मन्त्रालयले आपूर्ति बढाउन निर्देशन दिएको छ,’ उनले भने, ‘निर्देशनअनुसार कार्ययोजना बनाउनका लागि जिल्ला शाखा र जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेका छौं ।’

संस्थानले सदरमुकाम र जिल्लाबाट कसरी पठाउन सकिने बारेमा अध्ययन गर्न पत्रचार गरेको जनाएको छ । ‘कर्णालीको ५ जिल्लामध्ये कुनरकुन जिल्लामा बढी संकट र आपूर्तिको बारेमा पत्राचार गरेका छौं,’ उनले भने । शाखा र कार्यालयले अध्ययन गरेपछि प्रतिवेदन संस्थानमा पठाउँछ । सोहीअनुसार कार्ययोजना बनाएर मन्त्रालयमा पेस गर्ने छौं ।

संस्थानका अनुसार कर्णालीका विभिन्न क्षेत्रहरूमा खाद्यान्न ढुवानी गर्दै आएको छ । यो वर्ष पनि निरन्तरता दिने जनाइएको छ । संस्थानले कर्णालीका कृषकको जीवनस्तर उकास्न र उत्पादन बजारी करण गर्न कर्णाली उत्पादन उपत्यकामा बिक्री गर्दै आएको हो ।

यस वर्ष ७ सय क्विन्टल खाद्यान्न खरिद गर्ने संस्थानको योजना छ । खाद्यान्न खरिद गर्नका लागि करिब १ करोड रुपैयाँ विनियोजन गरिएको छ । ती उत्पादन ४ जिल्लाबाट खरिद गरिने छ ।

उत्पादन कर्णालीका कृषकबाट खरिद गरी उपत्यकामा बिक्री गरिने खनालले बताए । हुम्लामा उत्पादन कम भएकाले खरिद हुँदैन । मुगु भने खरिद प्रक्रियामा रहेको जनाएको छ । अहिलेसम्म करिब ४ सय २५ क्विन्टल खरिद गरिसकेको संस्थानले जनाएको छ ।

सिमी २ सय २५ र फापर २ सय क्विन्टल खरिद भइसकेको छ । व्यवसायीका अनुसार फापर मिठे र तिते गरी २ प्रकारको हुन्छ । राजधानीमा पाइने फापर मिठे हो । यो फपर सुगममा कमै मात्र फल्ने भएकाले भारतबाट आयात हुने गर्छ । कर्णालीमा उत्पादन हुने फपर तिते हो । तितेफापर सुगर र युरिक एसिडमा औषधिका रूपमा प्रयोग हुन्छ ।

यो सहरमा यस्ता रोगी धेरै भएकाले तिते फापरको पनि माग धेरै छ । संस्थानका अनुसार ढुवानी, सरसफाइ र केलाएको खर्च जोडर नाफा नखाई बिक्री गरिने छ ।

‘कर्णालीको उत्पादन खरिद गर्दा कृषकले बजार पाउँछन्,’ उनले भने, ‘उपत्यकाकावासीले पनि अर्गानिक उत्पादनको स्वाद लिन पाउने छन् ।’ संस्थानका अनुसार कर्णालीको उत्पादन खरिद गर्नको मुख्य उद्देश्य किसानलाई प्रोत्साहन गर्नु हो । ‘कृषकले उत्पादन गरेको खाद्यान्न सरकारले खरिद गर्दा किसानहरू उत्साहित हुन्छन्,’ उनले भने, ‘यसले काम गर्न थप वातावरण बनाउँछ ।’
संस्थानले अघिल्लो आर्थिक वर्षमा १ सय ९० क्विन्टल खरिद गरेको थियो । तितेफापर, सिमी, उवा बिक्री गरेको थियो । ती उत्पादनहरू संस्थानको थापाथली र नख्खु गोदामबाट बिक्री गरेको थियो । उवा गहुँजस्तै तर पोषिलो हुन्छ ।

यो उच्च हिमाली भेगमा मात्रै उत्पादन हुन्छ । संस्थानका अनुसार उवा मनाङ, मुस्ताङ र मुगुमा बढी उत्पादन हुन्छ । संस्थानले राजधानी भित्र्याएको उवा भने मनाङको थियो । बजारमा उवा सातुका रूपमा खाइन्छ । संस्थानका अनुसार उवाको पाउरोटी र रोटीको पिठोमा मिसाएर खाँदा झन् राम्रो हुन्छ ।
साभारः कान्तिपुर दैनिक ।