
सुर्खेत महिला जेसीजले आफ्नो वर्ष २०२५ को सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल मर्मलाई आत्मसात् गर्दै वीरेन्द्रनगरको व्यस्त चोक, पिपल चौतारीमा आयोजना गरिएको कार्यक्रममा ९ पिन्ट रगत संकलन भएको हो ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, सुर्खेतको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता सुर्खेत महिला जेसीजकी पूर्व अध्यक्ष (वर्ष २०२३) तथा नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष (वर्ष २०२४) सीताकुमारी भण्डारीले कार्यक्रमका सभापति एवं रक्तदाता कमला वस्याल (देवकोटा)लाई रक्तसंकलन थैली हस्तान्तरण गरेर गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले सुर्खेत महिला जेसीजले स्थापनाकालदेखि नै महिलाहरूको नेतृत्व तथा क्षमता विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “सामाजिक सेवाका यस्ता रचनात्मक कार्यक्रमहरूले संस्थाको छविलाई उच्च बनाउनुका साथै सदस्यहरूमा सेवाभाव र जिम्मेवारीबोध गराउँछ । महिला सशक्तीकरण र नेतृत्व विकासमा जेसीजले खेलेको भूमिका अतुलनीय छ।”
त्यस्तै, कार्यक्रमका विशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य एवं ८७ पटक रक्तदान गरी कर्णाली प्रदेशकै सर्वाधिक रक्तदाता बन्नुभएका प्रवाश कुमार शाक्यले सुर्खेत महिला जेसीजले नियमित रक्तदान कार्यक्रम आयोजना गरेर मानवीय सेवामा उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले महिलाहरूको समूहले देखाएको यो सक्रियता अन्यका लागि पनि प्रेरणाको स्रोत बनेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “सुर्खेत महिला जेसीजले वर्षको एकपटक मात्र नभई, कम्तीमा तीन-तीन महिनामा गरी वर्षको चार पटक रक्तदान कार्यक्रम आयोजना गरोस् भन्ने मेरो आग्रह छ । यसले जिल्लामा रगतको अभावलाई धेरै हदसम्म पूरा गर्न मद्दत गर्नेछ ।”
कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमका मूलसंयोजक भावना राना एवं कार्यक्रम संयोजक निशा बुढा रहनु भएको कार्यक्रममा पूर्व अध्यक्षहरू लक्ष्मी गुरुङ, मिना गुरुङ लगायत वर्तमान तथा पूर्व पदाधिकारी, सदस्यहरूको उपस्थिति रहेको थियो ।



Prawash Kumar Shakya । ६ श्रावण २०८२, मंगलवार १४:४९ बजे