कर्णालीमा खेलकुदको व्यावसायिक विकासमा जोड, युवालाई आत्मनिर्भर बनाउने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता


कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी, यसलाई व्यावसायिक स्वरूप दिएर युवाहरूका लागि आयआर्जन र आत्मनिर्भरताको माध्यम बनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले खेलकुद क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिसँग जोड्न सके मात्र खेलाडी र समग्र खेल क्षेत्रको भविष्य सुनिश्चित हुने बताउनुभएको हो ।

नेपाल खेलकुद महासंघ, कर्णाली प्रदेशको दोस्रो अधिवेशनमा मुख्यमन्त्री कँडेलले प्रदेश सरकार खेलकुदको पूर्वाधार विकास र खेलाडीको वृत्ति विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो। “खेलकुद अब केवल स्वास्थ्य र मनोरञ्जनको विषय मात्र होइन,” उहाँले भन्नुभयो, “यसलाई उद्योगको रूपमा विकास गर्नुपर्छ । खेलाडीले खेलेरै बाँच्न सक्ने, प्रशिक्षकले प्रशिक्षण दिएरै सम्मानित जीवनयापन गर्न सक्ने वातावरण बनाउन हामी सबै मिलेर लाग्नुपर्छ।”

मुख्यमन्त्री कँडेलले खेलकुदले युवाहरूलाई शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा तन्दुरुस्त बनाउने मात्र नभई, उनीहरूमा अनुशासन, जिम्मेवारीबोध, सिर्जनशीलता र सामूहिक भावनाको विकास गर्ने बताउनुभयो। “एक अनुशासित खेलाडी नै एक असल र जिम्मेवार नागरिक बन्न सक्छ,” उहाँले थप्नुभयो, “त्यसैले समाजलाई सही मार्गमा डोऱ्याउन पनि खेलकुद अपरिहार्य छ।” यो लक्ष्य हासिल गर्न सरकार, खेलकुद महासंघ, निजी क्षेत्र र सम्बन्धित सबै पक्षबीच बलियो सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले सबैलाई एक भएर लाग्न आह्वान गर्नुभयो।

कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीले कर्णालीको भौगोलिक विकटतालाई अवसरमा बदल्न साहसिक खेलकुद (Adventure Sports) को प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो । त्यसैगरी, नेकपा (एमाले) प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाहले पार्टीले खेलकुद क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताउनुभयो।

अधिवेशनमा नेपाल खेलकुद महासंघका उपाध्यक्ष दिपेन्द्र दाहाल, कर्णाली प्रदेशका उपाध्यक्ष टेकराज पछाई लगायतका वक्ताहरूले पनि खेलकुदको महत्त्वमाथि प्रकाश पार्नुभएको थियो ।