फुटबलमा कर्णालीको चुनौती समाप्त, लिग चरणबाटै बाहिरियो


सुर्खेत, १० मंसिर । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा सह–आयोजक कर्णाली प्रदेशको चुनौती लिग चरणमै समाप्त भएको छ । बिहीबार सम्पन्न समूह चरणको आफ्नो दोस्रो खेलमा गण्डकी प्रदेशसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएपछि कर्णाली प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतियोगितामा टिकिरहन आजको खेल जित्नैपर्ने दबाबमा रहेको कर्णालीले गण्डकीविरुद्ध अपेक्षित प्रदर्शन गर्न सकेन । यससँगै कर्णाली प्रतियोगिताको लिग चरणबाटै बाहिरिने पहिलो टोलीसमेत बनेको छ ।

यसअघि उद्घाटन खेलमा नेपाल पुलिस क्लबसँग ३–० गोलले पराजित भएको कर्णालीले दोस्रो खेलमा पनि हार बेहोरेपछि प्रतियोगितामा आफ्नो यात्रा टुंग्याउनुपरेको हो ।

गण्डकीले खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गर्दै कर्णालीमाथि दबाब बनाएको थियो । खेलको १६औँ मिनेटमा लछु थापाले गोल गर्दै गण्डकीलाई अग्रता दिलाउनुभयो । त्यसपछि २५औँ र ३३औँ मिनेटमा आशिष गुरुङले लगातार दुई गोल थप्दै पहिलो हाफमै गण्डकीलाई ३–० को बलियो स्थितिमा पुर्‍याउनुभएको थियो ।

दोस्रो हाफमा पनि गण्डकीको आक्रामक खेल जारी रह्यो । खेलको ५७औँ मिनेटमा सुदिप गुरुङले चौथो गोल गर्नुभयो भने अतिरिक्त समयको चौथो मिनेटमा टेकराज गुरुङले पाँचौँ गोल थप्नुभएको थियो । अन्ततः गण्डकीले कर्णालीलाई ५–० गोलले पराजित गर्दै सहज जित निकालेको हो ।

खेलका म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार गण्डकीका रन्दिप पौडेल र यामबहादुर श्रेष्ठ तथा कर्णालीका दिलविजय शाहीले पहेँलो कार्ड पाउनुभएको थियो ।

यसैबीच, बिहीबार दिउँसो २ः३० बजे हुने खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुने पाण्डेले जानकारी दिनुभयो ।