जिम्न्यास्टिकका प्रारम्भिक प्रतिस्पर्धा सुरु



सुर्खेत । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिक खेलका प्रारम्भिक चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा जिम्न्यास्टिकका विभिन्न विधामा प्रारम्भिक चरणका प्रतिस्पर्धा सुरु भएका हुन् । प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरूले आफ्नो सन्तुलन, लचकता र शारीरिक क्षमताको प्रदर्शन गर्दै फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार प्रारम्भिक चरणमा महिलातर्फ ४२ जना र पुरुषतर्फ ४८ जना गरी कुल ९० जना खेलाडी सहभागी छन् ।

उहाँका अनुसार प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा कम्पिटिसन–१, दोस्रो चरणमा कम्पिटिसन–२ (अलराउन्ड) र अन्तिम चरणमा कम्पिटिसन–३ (एपरेटस फाइनल) प्रतियोगिता सञ्चालन गरिनेछ ।

प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी, कोशी प्रदेशका साथै विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाले सहभागी छन् । कर्णाली प्रदेशका तर्फबाट भने एक जना पुरुष खेलाडीले मात्र व्यक्तिगत विधामा प्रतिस्पर्धा गरिरहेको जनाइएको छ ।