विपिन चम्किंदा रौनकको कीर्तिमान


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन नेपाली क्रिकेटको ईतिहासमा गर्विलो कीर्तिमान बनेको छ । लुम्विनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गरेका गर्दै १६ चौका र १४ छक्काका साथ घरेलु क्रिकेट ईतिहासकै सर्वाधिक २ सय १७ बनाउँदै कीर्तिमान कायम गर्नुभएको छ ।

वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसंग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गर्नुभयो । गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्विनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो ।
शैलेश काफ्लेको बलमा समिर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राईक रेटमा आक्रामक ब्याटिंग गर्दै प्रतियोगिताकै रौनक बढाउनुभयो । लुम्विनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७/१७ रनको थप्दा ४७ रन बोनस स्वरुप प्राप्त भयो । गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिनुभएको थियो ।

४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुनपुग्यो । गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् । लुम्विनीका शुभम् खनलले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिनुभयो ।

विपिनको धारिलो स्पिन

उता, कालुङ्गचोक मैदानमा भएको अर्को खेलमा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले आफ्नो धारिलो स्पिनलाई निरन्तरता दिंदा पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै प्रतियोगिता तालिकामा २ अंक चढाउन सफल भएको थियो । पहिलो खेलमाझैं निकै अनुशासित र किफायति बलिंग गर्नुभएका कप्तान विपिनले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै २ रन खर्चिएर ५ विकेट लिन सफल हुनुभयो । १० औं ओभरमा बलिङ गर्न आएका विपिनले १ रन मात्रै खर्चिनुभयो । १२औं ओभरमा १ रन दिएर १ विकेट लिएका उहाँले १४औं ओभरमा मेडनसहित १ विकेट लिनुभयो भने १६औं ओभरमा मेडनसहित ३ विकेट लिनुभयो ।

विपिनको जिम्मेवारीपूर्ण बलिङ कै कारण ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट हुनपुग्यो । जसमा विजय बोहराको ३ तथा नवीन न्यौपानेकोे २ विकेट महत्वपूर्ण रह्यो । सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सक्नुभएन । यस्तै अविरल बिकले ९, आहन थलालले ५ र हिमाल दुयालले २ तथा सचिन भट्टले १ रन बनाउनुभयो । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो ।

५६ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङ थालेको कर्णालीले १८ ओभर ३ बलमा आफ्नो ५ विकेट सुरक्षित राख्दै प्रतियोगिताको पहिलो जीतसहित अंक तालिकामा खाता खोल्न सफल भयो । कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाउनुभयो भने नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान ९ रन बनाउनुभयो । नवीन न्यौपानेले ७ रन बनाउँदा ओपनर कौस्तुभ खड्काले ४ रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान १ रन बनाउनुभयो ।

लगातार दुई हार खेपेको सुदूरपश्चिम भने अंकविहीन छ । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो । दोश्रो दिनको खेल सकिंदासम्म एक एक खेल खेलेर समान दुई दुई अंक जोडेकामध्ये कोशी पहिलो र मधेश दोश्रो स्थानमा रहँदा दोश्रो खेलबाट खाता खोलेको कर्णाली तेश्रो क्रममा रहेको छ । प्रतियोगिता अन्तर्गत भोलि २१ गते हुने खेलमा कोशी र लुम्विनी भीड्दा बाग्मति र कर्णालीले प्रतिष्पर्धा गर्नेछन् । नेपाल क्रिकेट संघ (क्यान) आयोजनामा ३१ गतेसम्म चल्ने प्रतियोगितामा ७ वटै प्रदेशका टोली सहभागी छन् ।