सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा दुवै विधाका गरी १६ टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
फूल कोर्ट (५×५) र थ्री अन थ्री (३×३) विधामा समान आठ–आठ टोलीले अन्तिम आठमा स्थान सुरक्षित गर्दा चार टोली भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
राष्ट्रिय बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनका अनुसार फूल कोर्ट (५×५) विधातर्फ एपीएफ, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र नेपाल आर्मी क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
त्यस्तै, थ्री अन थ्री (३×३) विधातर्फ नेपाल आर्मी, गण्डकी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, एपीएफ, नेपाल पुलिस क्लब र कर्णाली प्रदेशले अन्तिम आठमा स्थान बनाएका छन् ।
दुवै विधाका गरी चार टोली भने प्रतियोगिताबाट बाहिरिएका छन् । फूल कोर्ट (५×५) विधाबाट कर्णाली र मधेस प्रदेश बाहिरिँदा थ्री अन थ्री (३×३) विधाबाट कोशी र मधेस प्रदेशको यात्रा समाप्त भएको छ ।
यसैबीच, बिहीबार सम्पन्न महिला बास्केटबलका खेलहरूमा विभागीय टोली एपीएफ, बागमती, गण्डकी र नेपाल आर्मीले फूल कोर्ट (५×५) विधातर्फ जित निकालेका छन् ।
पहिलो खेलमा एपीएफले आयोजक कर्णाली प्रदेशलाई ६७–१९ अंकको फराकिलो अन्तरले पराजित गर्यो । त्यस्तै, बागमती प्रदेशले मधेस प्रदेशलाई ४३–५, गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३३–७ तथा नेपाल आर्मीले लुम्बिनी प्रदेशलाई ८०–२ अंकले पराजित गरे ।
थ्री अन थ्री (३×३) विधातर्फ भएका खेलमा एपीएफले कोशी प्रदेशलाई १२–५ अंकले हराउँदा कर्णाली प्रदेशले मधेस प्रदेशमाथि १६–१ अंकको जित निकाल्यो । त्यस्तै, सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ८–४ तथा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ५–१ अंकले पराजित गरे ।
प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुनेछन् ।



Prawash Kumar Shakya । १० मंसिर २०८३, बिहीबार १८:२२ बजे