
सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकूद प्रतियोगिताको प्रचारप्रसार तथा खेलकूदको उत्साहलाई देशव्यापी बनाउन ओलम्पिक टर्चसहित ट्रफी टुर सुरु गरिएको छ ।
दैलेखको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी शुक्रबार ट्रफी टुरको औपचारिक शुभारम्भ गरिएको हो ।
राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा सुरु भएको ट्रफी टुरलाई प्रतियोगिताको मुख्य खेलस्थल वीरेन्द्रनगरबाट कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव रविन्द्र चन्दले बिदाइ गर्नुभएको थियो ।
श्रीस्थानको प्राकृतिक ज्वालाबाट प्रज्वलित ओलम्पिक टर्चलाई कर्णालीको खेलकुद यात्रा, उत्साह र गौरवको प्रतीकका रूपमा अघि बढाइएको छ । श्रीस्थानबाट बालिएको टर्च कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन्द्र चन्दले म्याराथन धावक हरिबहादुर रोकायालाई हस्तान्तरण गर्नुभएको थियो । रोकायाले टर्च ग्रहण गरेसँगै दैलेखबाट ट्रफी टुरको औपचारिक यात्रा सुरु भएको हो ।
टर्च तथा ट्रफी टुर दैलेखबाट कालिकोट हुँदै जुम्लासम्म पुग्ने कार्यक्रम रहेको छ । टुरमा ओलम्पियन दीपक विष्ट, साग खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाय, ओलम्पियन देबु थापा तथा कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीहरूको सहभागिता रहेको छ । जुम्लामा चर्चित नेपाली अल्ट्रा धाविका सुनमाया बुढासमेत टोलीमा सहभागी हुने कार्यक्रम रहेको छ ।
टुरका क्रममा कालिकोट र जुम्लामा ट्रफी तथा ओलम्पिक टर्चसहित नगर परिक्रमा गराइनेछ । ट्रफी टुर सम्पन्न भएपछि मंसिर १५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले भव्य समारोहका बीच टुर टोलीको स्वागत गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी अनावरण गर्ने कार्यक्रम रहेको छ ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ गतेदेखि कर्णाली प्रदेशमा औपचारिक रूपमा सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गतका ३२ खेलमध्ये १० खेल भने मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् ।
लामो समयदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतीक्षामा रहेको कर्णालीमा प्रतियोगिताको मिति नजिकिँदै जाँदा खेलकुद गतिविधि र उत्साहसमेत बढ्दै गएको छ । दैलेख श्रीस्थानको अखण्ड ज्वालाबाट प्रज्वलित ओलम्पिक टर्चसहित सुरु भएको ट्रफी टुरले कर्णालीको खेलकुद इतिहासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।



Prawash Kumar Shakya । ११ मंसिर २०८३, शुक्रबार १५:२७ बजे