
सुर्खेत, मंसिर १० । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ । आफ्नो दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित हुँदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको हो ।
आज (बिहीबार) वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले सात विकेटको क्षतिमा ७९ रन बनायो । लुम्बिनीकी ओपनर ऋतु रावलले ४१ रनको नटआउट पारी खेल्नुभयो । ५६ बलको सामना गर्नुभएकी उहाँले पाँच चौका प्रहार गर्नुभयो । यस्तै सिमा थापाले १० रनको योगदान दिनुभएको थियो ।
आस्मा पुलामीमगरले पाँच, अनिता चौधरी र दीपा कुँवरले समान चार-चार रन बनाउनुभयो भने सुस्मिता भुषालले दुई तथा ओपनर श्रुती बुढाथोकी, सरस्वती पुन र मनिषा रानाले एक-एक रन बनाउनुभएको थियो ।
लुम्बिनीलाई सस्तैमा समेट्न मधेश प्रदेशकी सुस्मिता यादवले चार विकेट हात पार्नुभयो । चार ओभर बलिङ गर्नुभएको उहाँले २० रन खर्चिनुभयो । यस्तै रोजी कडारीले दुई विकेट झार्नुभयो भने कप्तान पुजा महतोले एक विकेट लिनुभयो ।
८० रनको लक्ष्य मधेशले १२.४ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । मधेश प्रदेशकी ओपनर एलिषा यादवले ४२ रनको महत्वपूर्ण पारी खेल्नुभयो । ३६ बलको सामना गर्नुभएकी उहाँले आठ चौका प्रहार गर्नुभयो । कम्तान पुजा महतोले १५ रन बनाउँदा अनुराधा चौधरीले सात रन बनाउनुभयो । ओपनर साना प्रविनले चार रन र सरस्वती चौधरीले दुई रनको योगदान दिनुभयो । चाँदनी खातुन चार रनमा नटआउट रहनुभयो ।
लुम्बिनीकी सरु तिवारीले तीन, सुस्मिता भुषाल र सरस्वती पुनले एक एक विकेट हात पार्नुभयो । बलिङमार्फत लुम्बिनीलाई सस्तैमा समेट्नु भएकी मधेश प्रदेशकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित हुनुभयो । मधेशसँगको हारसँगै लुम्बिनी प्रदेश प्रतियोगीताबाट बाहिरिएको छ । लुम्बिनी आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजित भएको थियो ।



Prawash Kumar Shakya । १० मंसिर २०८३, बिहीबार १३:१७ बजे