५ फागुन, गठन भए लगत्तै पुनर्निर्माण महाअभियानको घोषणा गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कर्मचारी अभावका कारण काम अघि बढाउन समस्या भईरहेको जनाएको छ।
आवश्यकभन्दा थोरै कर्मचारी सामान्य प्रशासन मन्त्रालयले पठाएको र पठाएकामध्ये समेत सबै कर्मचारी हाजिर नभएको प्राधिकरणको भनाई छ।
सामान्य प्रशासन मन्त्रालयले कर्मचारी पठाउने क्रम जारी रहेपनि प्राधिकरणमा जाने हकमा कर्मचारीहरुमा उत्साह नदेखिएको बताएको छ।
भूकम्पपछिको पुनर्निर्माणको सम्पूर्ण जिम्मेवारी तोकिएको प्राधिकरणको काम अघि बढाउन भन्दै सरकारले २०८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो।
दरबन्दी
सोही अनुरुप कर्मचारीको व्यवस्था गर्ने जिम्मेवारी पाएको सामान्य प्रशासन मन्त्रालयले दुई पटक गरेर ४२ जना कर्मचारीलाई काजमा प्राधिकरण पठाउने निर्णय गरेको थियो।
तीमध्ये हालसम्म ३० जना मात्र हाजिर भएको प्राधिकरणका कायममुकायम सचिव मधुसुदन अधिकारीले बताए।
उनले भने, “कर्मचारीको अभावले हामीलाई अपठ्यारो परिरहेको छ, केन्द्रमा केही महाशाखाहरुमा पदपूर्ति हुन सकेको छैन, प्राविधिक जनशक्ति आइपुगेको उपक्षेत्रीय कार्यालय खोल्नका लागि पनि आएको छैन, १३ जना सहसचिवको दरबन्दीमा सहसचिवहरु आउनुभएको छैन्।”
द्रुत गतिमा कामहरु अघि बढाउनुपर्ने बेला सरुवा भएका कर्मचारी समेत नआउँदा उपक्षेत्रीय कार्यालयको स्थापना गरेर तालिम सञ्चालन गर्नुपर्ने तथा स्थानीयस्तरमा समन्वय गर्नुपर्ने जस्ता काम हुन नसकेको उनको भनाई छ।
केन्द्रमा समेत कार्यालय व्यवस्थापनदेखि प्राधिरकणलाई आवश्यक पर्ने कानुन बनाउने काममा समेत बाधा भएको अधिकारीले बताए।
उत्साह
प्राधिकरणले मागी पठाए बमोजिम केही कर्मचारी पठाउने काम गरिएको र अन्य पनि पठाउने प्रक्रियामा रहेको सामान्य प्रशासन मन्त्रालयले बताएको छ।
तर प्राधिकरण जान कर्मचारीहरुले खासै उत्साह नदेखाएको सामान्य प्रशासनमन्त्री रेखा शर्माले बताइन्।
उनले भनिन्, “प्राधिकरणको शुरुको दिनमा जुन खालको उत्साह देखिएको थियो, कर्मचारीमा पछिल्लो दिनमा त्यो उत्साह घट्दो छ, कर्मचारी क्षेत्रमा कनिष्ठ, वरिष्ठको कुरा पनि हेर्ने गर्छन् त्यस कारणले हो अथवा के कारणले हो यसको कारण खोजिनुपर्छ जस्तो लाग्छ।”
भूकम्प गएको १० महिना पुग्नै लाग्दा समेत प्राधिकरणले भूकम्पपीडितलाई लक्षित गरेर कुनै कार्यक्रम ल्याउन नसकेको भन्दै पीडितहरुले गुनासो गर्दै आएका छन्।
प्राधिकरणको यस्तै अवस्था रहेमा एक वर्षा र एक हिउँद अस्थायी टहरा र त्रिपालमै बिताएका पीडितहरुको अर्को वर्षाअघि नै आफ्नो घरमा बस्ने चाहना चाहिँ चाहनामै सीमित हुन सक्ने कतिपयको शंका छ।
साभारः विविसी नेपाली




Milan Shrestha । ५ फाल्गुन २०७२, बुधबार ०६:०३ बजे