फुटबलले दिएको खुसी व्यक्त गर्ने शब्द मसँग छैन: राजुकाजी शाक्य


५ फागुन, फुटबल भनेपछि सानैदेखि हुरुक्क हुन्थें म । पूर्वको धरानमा फुटबलका लागि छुट्टै वातावरण थियो । त्यहीबाट मेरो फुटबल यात्रा सुरु भयो । उमेर समूहदेखि राष्ट्रिय टोलीबाट समेत धेरै खेल्ने मौका पाएँ । 
 
१७ वर्षको उमेरदेखि राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेको हुँ । सिनियर राष्ट्रिय टोलीबाट पनि लामो समय खेल्ने मौका पाएँ । काठमाडौंमा भएको पहिलो दक्षिणएसियाली खेलकुद (साग) देखि सातौं सागसम्म लगातार खेलेँ । ती सहभागितामा नेपाल कहिल्यै पदकविहीन भएन । नेपालले दुई संस्करणमा स्वर्ण, एकमा रजत र अन्य संस्करणमा कांस्यपदक जित्यो । 
सन् १९९१ देखि १९९७ सम्म कप्तानकै रूपमा खेल्ने अवसर मिल्यो । त्यो अवसरका लागि आफूलाई भाग्यमानी ठान्दछु । सन् १९८४ मा खेलाडी तथा सन् १९९३ मा कप्तानका रूपमा देशलाई स्वर्णपदक दिलाउँदा पनि मेरो खुसीको वेग छुट्टै थियो ।
 
यसपटकको स्वर्णले मेरो जीवनमा अर्को आयाम थपिदिएको छ । खुसीको अर्को बहाना थपिदिएको छ । सन् १९९७ को दक्षिणएसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप खेलेपछि राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरें । खेलाडीका रूपमा राष्ट्रको झन्डा बोक्न पाउनु धेरै गर्वको विषय हो । 
 
उत्कृष्ट खेलाडीको छवि बनाएकाले सन् १९९६ देखि १९९८ सम्म बंगलादेशको भिक्टोरिया क्लबबाट व्यावसायिक फुटबल खेल्ने मौका पाएँ । त्यसअघि एक सिजन बंगलादेशकै इस्ट इन क्लबबाट पनि खेलें । इस्ट इनका लागि नौ गोल गर्दै सिजनकै सर्वाधिक गोलकर्तासमेत बनें ।
 
राष्ट्रिय टोलीबाट खेल्दा देशमा चर्चा राम्रै थियो । तर खेलाडीमाथि पदाधिकारीले गर्ने राजनीति सधैं उस्तै रह्यो । त्यतिबेला आरएनएसीबाट फुटबल खेल्थें । हामी करारका जागिरे खेलाडी थियौं । सागको स्वर्ण जितेपछि जागिर स्थायी गरिदिने कुरा भएको थियो । स्थायी जागिरे हुने भएपछि खुसीको सीमा रहेन । 
 
तर आश्वासन कार्यान्वयन भएन । त्यतिमात्र होइन, सन् १९९४ को एसियन गेम्समा नेपालको झन्डा बोक्ने जिम्मेवारी मलाई दिइएको थियो । तर अन्तिममा अर्कै खेलाडीले झन्डा बोक्यो । त्यतिबेला म रोएको थिएँ । खेलाडीका रूपमा देशलाई योगदान पुर्‌याउन कहिल्यै पछि परिनँ तर सम्मान र उपहारमा भने ठगिएको मान्छे हुँ म ।
 
खेलाडी छँदै विभिन्न देशबाट राम्रो मौका र अवसर आएका थिए । तर त्यसलाई मैले वास्ता गरिनँ । फुटबल मेरो नशा थियो । खेलजीवन सकिएपछि पुनः फुटबलमै आफ्नो धर्म निर्वाह गर्न मन लाग्यो । 
 
सन् १९९७ मा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी सञ्चालन गरेपछि त्यहीं जुनियर खेलाडीलाई प्रशिक्षण दिन थालें । अहिले पनि त्यो क्रम जारी छ । त्यही एकेडेमीको तागत नेपाली फुटबलमा झल्किएको होजस्तो लाग्छ ।
 
मैले प्रशिक्षणको जिम्मेवारी सन् १९९७ बाटै सुरु गरेको हुँ । मैले त्यसबेला न्युरोड टिम एनआरटीका खेलाडीलाई प्रशिक्षण दिलाएको थिएँ । एनआरटीसहित विभागीय टोली त्रिभुवन आर्मी, थ्री स्टार, संकटा, मच्छिन्द्र र मनाङमस्र्र्याङ्दी क्लबलाई प्रशिक्षण दिइसकेको छु । 
 
सन् १९९९ को सागमा नेपाली टोलीले रजतपदक जित्दा पनि म सहायक प्रशिक्षक थिएँ । त्यसबेला नेपाल भारतसँग पराजित भएको थियो । रजत जितेको नेपाली टोलीलाई तत्कालीन सरकारले विशेष सम्मानसहित गोरखा दक्षिणबाहुबाट पुरस्कृत गर्ने घोषणा गर्‌यो । टोलीका प्रशिक्षक र खेलाडीले पाए । मलाई सहायक प्रशिक्षक भनेर दिइएन । 
 
संघर्षका कथा धेरै छन् । फुटबलमा मेहनत गर्न छाडिनँ । जागिर भएन, राम्रो पढ्न सकिएन । धेरै आश्वासन बाँडियो, कहिल्यै आश्वासन पूरा भएन । फेरि पनि मेहनत गर्न छाडिनँ ।
 
म कर्ममा विश्वास गर्ने मान्छे । बरु गाडा गुडाएर बाँच्छु, फुटबल छाड्दिनँ भन्ने अठोट गरेको थिएँ । त्यो अठोट अझै रहिरहनेछ । मेरा लागि साग आफैंमा विशेष बन्दै आएको छ । खेलाडीका रूपमा विभिन्न सागमा फरकफरक अनुभव लिएको थिएँ । 
 
यसपटक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएपछि केही गरेर छोड्छु भन्ने विश्वास थियो । खेलाडी र समग्र टोलीका रूपमा हामीले धेरै मेहनत गर्‌यौं । खेलाडीले धेरै राम्रो खेले । नेपाली फुटबलमा गोल नै हुँदैन भन्ने भ्रम थियो । 
 
खेलाडीले खेल्न र गोल गर्न सक्दैनन् भन्ने त्यो भ्रमलाई हामीले चिर्नु थियो । हामीले ईखले पनि राम्रो गरेका हौं । नेपालको फुटबल सधै‌ राम्रो छ । तर हाम्रो भौतिक संरचना, खेलाडी र प्रशिक्षकलाई समयसापेक्षित रूपमा विकास गर्दै जानु आवश्यक छ । नतिजा आउँदा मक्ख पर्ने र त्यसपछि गुमनाम हुने संस्कृति अन्त्य हुनुपर्छ । 
 
खेल्नका लागि मुख्य वातावरण हो । घरेलु मैदान र संरचना हेर्दा दिक्कलाग्दो छ । सरकार र सम्बन्धित निकायले यसमा ध्यान दिन आवश्यक छ ।
यसपटकको स्वर्णपदकले फुटबलमा मात्र नभएर नेपाली खेलकुद क्षेत्रमै धेरै सकारात्मक सन्देश दिएको छ । वैशाख १२ को भूकम्प र त्यसपछि भारतले लगाएको नाकाबन्दीका कारण नेपालीहरूले निक्कै कष्ट बेहोर्नुपर्‌यो । 
 
हालै बंगलादेशमा नेपाली टोलीले जितेको बंगबन्धु गोल्डकप र यो स्वर्णपदकले नेपालीहरूको त्यो पीडालाई केही कम गरेको हुनुपर्छ । खेलाडीका रूपमा भारतलाई अन्य मैदानमा मैले हराएको थिएँ । तर उसकै मैदानमा हराउने मेरो योजना अपूरै थियो । 
 
खेलाडीका रूपमा सम्भव नभए पनि प्रशिक्षकका रूपमा भारतलाई उसकै मैदानमा हराएर स्वर्ण जितेका छौं, यो खुसी व्यक्त गर्ने शब्द मसँग छैन । सन् १९९३ मा कप्तान, सन् १९९९ मा सहायक प्रशिक्षक र अहिले मुख्य प्रशिक्षक रहनु मेरा लागि ठूलो सौभाग्य हो ।
 

साभारः अन्नपूर्ण पोष्ट