
१४ बैशाख, काठमाण्डौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनसंग भेटगरी आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिता दिनुपर्ने आयोजना र बजेटबारे छलफल गर्नुभएको छ ।
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारको तर्फवाट कर्णाली प्रदेशको विकास तथा देशकै समुन्नतिको लागि रणनीतिक महत्व राख्ने रुपान्तरणकारी आयोजनाको रुपमा रहेको कर्णाली करिडोर (सुर्खेत—हुम्ला ) र भेरी करिडोर (सुर्खेत—डोल्पा)लाई राष्ट्रिय गौरवको आयोजना अन्तर्गत विशेष प्राथमिकतामा राखी छुट्टै संरचनासहित आयोजना कार्यालय स्थापना र आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरी उपयुक्त आयोजनाहरु यथासमयमा कार्यान्वयन तथा सम्पन्न गर्ने व्यवस्था आग्रह गर्नुभएको छ ।
त्यस्तै मुख्यमन्त्री कँडेलले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको र कर्णाली प्रदेशको राजधानी जोड्ने प्रदेश प्रवेशद्धारका रुपमा रहेको कोहलपुरदेखि सुर्खेतसम्मको रत्न राजमार्गलाई चार लेनको बनाउने योजना कार्यान्ववयनमा नगएकाले आवश्यक बजेट सहित कार्यान्वयनको व्यवस्था अनुरोध गर्नुभएको छ । उहाँले नेपाल सरकारको विगतका वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएको तथा हालसम्म कार्यान्वयनमा जान नसकेको कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गरी संघीय राजधानीसंग कर्णाली प्रदेशको हवाई पहुँच र आन्तरिक उडानको केन्द्रका रुपमा विकास गर्न आवश्यक बजेटसहित कार्यान्वयनको व्यवस्था पनि अनुरोध गर्नुभएको छ ।
मुख्यमन्त्री कँडेलले भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा नीजि आवास तथा अन्य संरचनाहरु पुनर्निर्माणको लागि आवश्यक बजेट विनियोजन गर्न, कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकाको तल्लो तटिय क्षेत्र बाढीबाट वर्षेनि प्रभावित हुने भएकाले दीर्घकालिन समस्या समाधानका लागि निकासखोला नियन्त्रण आयोजनाको डिपिआरसमेत भइसकेकाले प्राथमिकता राखी बजेटसहित कार्यान्वयनको व्यवस्था गर्न, तथा कर्णाली प्रदेशमा संघीय सरकारको तर्फबाट सञ्चालित विकास आयोजनाहरुलाई निरन्तरता दिई बजेटको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।
छलफलमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतको पनि सहभागीता रहेको थियो ।



Prawash Kumar Shakya । १४ बैशाख २०८१, शुक्रबार १५:०६ बजे