
काठमाडौँ, भदौ १६ गते । भाद्र कृष्ण औँसीका दिन बिहीबार पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उहाँको मुख हेरेर मनाउँदै छन् । बुबाको मुख हेरेपछि मिठाइ, फलफूल, कपडा आदि उपहार दिने चलन छ । टाढा हुने छोराछोरीले फोनबाटै पनि कुरा गरेर पनि बुबाको मुख हेर्ने गरिन्छ ।
भौतिक रूपमा बिदा भइसकेका पिताहरूलाई भने छोराछोरीले तस्बिर हेरेर वा विभिन्न शक्तिपीठ, देवालयमा गई दान गर्ने परम्परा छ । औँसीको दिनलाई शास्त्रमा पितृको दिन मानिन्छ । पिता नहुनेहरूले गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्रजस्ता पवित्र तीर्थस्थलमा गई पितृका नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गर्ने गर्छन् ।
ज्योतिष डा. सुनील सिटौलाका अनुसार, यसै दिन घर डेरामा कुश भित्र्याउने चलन छ । स्वर्गका राजा इन्द्रले भगवान् विष्णुलाई स्वर्गबाट कुश दिएको दिनको रूपमा संस्मरण गर्दै यस दिन कुश भित्र्याउने चलन छ ।
तुलसी, कुश र शालीग्रामलाई विष्णुको प्रतीक मानिन्छ । भाद« कृष्ण औँसीका
दिन काटिएको कुश एक वर्ष, अन्य औँसीमा काटिएको कुश एक महिना र अन्य दिन काटिएको कुश सोही दिनका लागि मात्र धार्मिक कार्यमा काम लाग्छन् भन्ने मान्यता छ ।
डा. सिटौलाका अनुसार, भाद्र कृष्ण औँसीका दिन चन्द«मा र सूर्य सिंह राशिमा पर्ने भएकाले यो दिन पितृ कार्यका लागि उत्तम मानिएकाले दिवंगत बाबुप्रति श्राद्ध तर्पण गर्ने र जीवित देवतासरह बाबु हुनेले उपहार आदि दिएर प्रसन्न तुल्याउने गर्दा राम्रो हुन्छ ।
गोकर्णेश्वर औँसी पनि भनिने यो दिन उत्तरगया भनी पवित्र मानिएको गोकर्ण क्षेत्रमा पितृ श्राद्ध गर्दा पितृ उद्धार हुन्छ भन्ने मान्यता छ । गोकर्णमा श्राद्ध गराउने ब्राह्मणले बुधबार नै स्थान ओगटिसकेका छन् । श्राद्ध कर्म गर्दा गोकर्ण छेउको बागमती नदीमा फोहर फाल्न निषेध गरिएको छ । फोहर नियन्त्रण गर्न स्वयम्सेवकको एक दस्ता गोकर्णलगायत बागमती नदी क्षेत्रमा खटिएका छन् ।
साभारः गोरखापत्र अनलाइन
Prawash Kumar Shakya । १६ भाद्र २०७३, बिहीबार ०५:०४ बजे