बम आतंक मच्चाउने समुहको कमाण्डर देवकोटा को हुन् ?


असोज ४  

काठमाडौं–मंगलबार बिहानै राजधानीका आधा दर्जन स्कुलमा बम आतंक मच्चाउने संगठनका कमाण्डर सिन्धुलीका मिन देवकोटा भएको खुलेको छ । देवकोटा योङ कम्युनिष्ट फोर्स नेपालको केन्द्रिय संयोजक रहेको प्रारम्भिक तथ्य फेला परेको काठमाडौं प्रहरीले बताएको छ ।

‘संगठनका संयोजक मिन देवकोटा हुन्’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीले भने, ‘उनकै समुहले बम आतंक मच्चाएको खुलेको छ ।’

त्यस्तै मिनका अर्का सहकर्मी हुन् सुमन श्रेष्ठ हुन् । आजभन्दा दुई महिनाअघि स्कुलको गाडी जलाएको आरोपमा पक्राउ परेकाहरुले आफ्ना कमाण्डर मिन र सुमन हुन भन्दै नाम पोलेका थिए ।

मिन र सुमनको समुह करिब ६ महिनाअघि मात्रै राजधानीमा आपराधिक गतिविधिमा सक्रिय भएका थिए । ‘करिब ६ महिनादेखी यो समुह राजधानीमा सक्रिय भएको खुलेको छ’ एसपी कार्कीले भने, ‘यो कुनै पोलिलिटकल समुह हैन, विशुद्ध आपराधिक गिरोह हुन् ।’

बम आतंक मच्चाएसँगै मिन र सुमनलाई पक्राउ गर्न उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले बिहान बौद्धस्थित आकाशदीप बोडिङ स्कुल र मनकामना उच्च माविमा बम विस्फोटन गराएका थिए भने जोरपाटीको राई बोडिङ स्कुल, इस्टपोल स्कुल, ललितपुरको रेडियन्ट रिडर्स एकेडमी स्कुल, डल्लुको कञ्चनजङगा बोडिङ स्कुल र जोरपाटीकै बालसंसार बोडिङ स्कुलमा प्रेसेर कुकर बम र शङ्कास्पद वस्तु राखिएको भेटिएपछि सेनाको बम डिस्पोजल टोलीले निष्किृय पारेको थियो ।

केन्द्र र फोर्स विद्यालयमा फ्याँकेको पत्रामा निजी विद्यालयले वार्षिक दुई लाख ४० हजार भन्दा कम आय हुने तथा चलअचल सम्पत्ति रु २० लाख भन्दामुनि हुने अभिभावकका छोराछोरीलाई निःशुल्क पठाउनुपर्ने, निजी र सरकारी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्ने, निजी विद्यालयले तोकेको स्थानबाट शैक्षिक सामग्री तथा ड्रेस किन्नुपर्ने बाध्यतालाई तुरुन्तै अन्त्य गर्नुपर्ने, आर्थिक अभावका कारणबाट शिक्षाबाट वन्चित हुने व्यवस्था अन्त्य हुनुपर्ने लगायतका आठ सुत्रीय माग अघिसारेका छन् ।

साभार : साताे पाटी