एफएनसीसीआईमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने गरी विधान संशोधन प्रस्ताव


FNCCI१ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को विशेष साधारणसभा आउँदो विहिबार राजधानीमा सुरु हुँदैछ । कात्तिक ४ गते हुन लागेको साधारणसभामा २०४९ सालमा बनेको महासंघको विधान संशोधन प्रस्ताव पेश हुने भएको छ ।

महासंघको विधामन संशोधन गर्न बनेको समितिले बरिष्ठ उपाध्यक्ष सीधै अध्यक्ष बन्ने गरी नयाँ प्रस्ताव गरेको छ । यही प्रस्तावसहितको विधान अब विशेष साधाराणसभामा पेश हुनेछ ।

यो विशेष साधारणसभाले भाबी अध्यक्षको समेत निक्र्यौल गर्न सक्ने हुँदा यसलाई उद्योगी व्यवसायीले ‘मिनि इलेक्सन’ को रुपमा समेत लिएका छन् । संस्थालाई बलियो बनाउन भन्दै वरिष्ठ उपाध्यक्षलाई नै स्वतः अध्यक्ष बनाउने गरी विधान संशोधन गर्न लागिएको हो ।

प्रस्तावित विधान जस्ताको तस्तै पारित भएको अवस्थामा अहिलेको कार्यसमितिको वरिष्ठ उपाध्यक्ष नै स्वतः महासंघको अध्यक्ष हुन पाउने छन् । अन्य पदाधिकारी भने सर्बसहमति वा भोटिङबाट चयन गर्ने गरी विधान संशोधन हुने उद्योग समितिका सभापति तथा संशोधन समितिका सदस्य उमेश श्रेष्ठले बताए ।

विधान संशोधनको प्रस्तावमा महासंघका प्रतिनिधिहरु मध्ये ५१ प्रतिशतले सहमति जनाएका अगामी महासंघको अध्यक्ष भवानी राणा हुने टुङ्गो साधारणसभामै लाग्ने छ । विधान संशोधन पारित भए अध्यक्षका अन्य प्रत्यासीे स्वतः पछि हट्नुपर्ने अवस्था हुन्छ ।

‘महासंघ २०४९ सालको विधान अनुरुप चलिरहेको छ’, श्रेष्ठले भने, ‘देशको शासकीय संरचना नै परिर्वतन हुने अवस्थामा रहेका कारण महासंघले पनि संघीय प्रदेश अनुरुप संरचना परिवर्तन गर्ने गरी विधान संशोधन गर्न लागिएको हो ।’

महासंघले योसँगै सभामा प्रादेशिक संरचना निर्माण, कार्यसमितको संख्या वृद्धि लगायतका संशोधन प्रस्ताव अगाडि बढाउन लागेको उनले बताए ।

प्रादेशिक संरचनामा प्रादेशिक समिति पनि गठन गर्ने प्रस्ताव राखेपनि त्यसलाई केन्द्रीय समितिको मातहतमै रहने गरी गर्ने तयारी भएको उनले बताए ।

‘अहिले महासंघमा ६५ सदस्यीय कार्यसमिति छ’ उनले भने,’विधान संशोधनको प्रस्ताव पारित भएको अवस्थामा ९५ सदस्यीय हुन्छ ।’

साभारः अनलाइन खबर