आज शहिद दिवश


-बाबुराम भण्डारी
१६ माघ
शहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको भलाईका लागि काम गर्ने र आफ्नो

ज्यानको माया नगरी बलिदानी दिने व्यक्तिलाई बुझिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानको शब्दकोष अनुसार शहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षणका तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई बुझिन्छ । नेपालको पहिलो शहिद लखन थापालाई मानिन्छ । थापालाई तत्कालिन राणा प्रधानमन्त्री जंगबहादुर राणा विरुद्ध प्रचार प्रसार गरेको आरोपमा विक्रम सम्बत् १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो । थापा तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए । नेपालको इतिहाँसमा त्यसपछिका सवैभन्दा ठुला शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ हुन् । उनीहरुलाई पनि राणा शासनकै बेला मारिएको थियो । विक्रम सम्बत् १९९७ साल माघ १० गते राति १२ बजे काठमाडौंको पचलीमा खरीको रुखमा शुक्रराज शास्त्रीलाई झुण्ड्याईएको थियो भने धर्मभक्त माथेमाको सिफलमा हत्या गरिएको थियो । त्यसैगरी माघ १४ गते दशरथचन्द्र ठाकुरलाई शोभाभगवतीमा गोली हानी हत्या गरिएको थियो र सोहि दिन राति १० बजे शोभाभगवतीमै लगेर गंगालाल श्रेष्ठलाई खम्बामा बाँधेर गोली हानी हत्या गरिएको थियो ।

विशेषगरी राजनीतिक परिवर्तनका क्रममा मारिएका व्यक्तिहरु नै शहिद भएकाछन् । २०६२-६३ को राजनीतिक परिवर्तनका क्रममा पनि धेरैजना व्यक्तिहरु शहिद भएका थिए । १९ दिनसम्म चलेको उक्त राजनीतिक आन्दोलनले दुई सय ३७ वर्ष पुरानो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेको थियो । यस राजनीतिक आन्दोलनमा तत्कालिन प्रमुख राजनीतिक पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले तथा शसस्त्र युद्धबाट शान्तिपूर्ण राजनीतिक रुपान्तरण खोजिरहेको तत्कालिन नेकपा माओवादी सम्मिलित थिए । उक्त आन्दोलनका क्रममा २६ जना मारिएका थिए ।
नेपालको इतिहाँसमा केहि यस्ता व्यक्तिहरु छन् जसलाई जिउँदा शहिदका रुपमा सम्मान गरिंदै आएको छ । नेपालमा सबभन्दा पहिला नेपाल प्रजा परिषद् नाम गरेको राजनीतिक पार्टीको स्थापना गरी प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने टङ्कप्रसाद आचार्यलाई जिउँदो शहिद मानिन्छ । उनलाई ब्राह्मण भएकाले मार्न हुँदैन भनी चारपाटा मुडेर घाँटीमा सुँगुरको पाठो झुण्ड्याई आजीवन कारावास हालिएको थियो । त्यस्तै २०६२-६३ को जनआन्दोलनका क्रममा गम्भीर घाइते भएका मुकेश कायस्थ र विष्णुलाल महर्जन पनि जिउँदा शहीदहरू हुन् । 
शहिद दिवसका अवसरमा हरेक बर्ष शहिद सप्ताह मनाइदै आएको छ । शहिद दिवस प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक आन्दोलनमा जिवनको आहुति गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष मनाइन्छ । सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा मनाइन्छ । सहिदहरुको बलिदानको प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्र प्राप्ति भएको हो । वहाँहरुको बलिदानको गाथा तथा प्रजातान्त्रिक आन्दोलनका बाँकी सवै शहिदहरूको योगदानबारे शहिद दिवसका अवसरमा स्मरण गरिंदै लैनचौरस्थित सहिदपार्कमा विभिन्न कार्यक्रमहरु गरिंदै आएको छ ।
शहिद दिवशका दिन नेपाल सरकारले हरेक वर्ष सार्वजनिक विदा दिंदै आएको छ । त्यसैगरी राष्ट्रपति, सभामुख, प्रधानमन्त्री सहित उच्च पदस्थ अधिकारीहरुले आज शहिद दिवसका अवसरमा देशबासीका नाउँमा शुभकामना दिंदै शहिदहरुका शालिक र प्रतिमाहरुमा पुष्पगुच्छाहरु अर्पण गर्दछन् । राजधानीको शहिद गेटमा आज शहिदहरु प्रति माल्यार्पण गरिंदै विभिन्न कार्यक्रमहरु आयोजना गरिन्छ । शहिद दिवसका अवसरमा जिल्ला जिल्लामा प्रभातफेरी, रक्तदान, दौड प्रतियोगिता लगायतका विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरिंदैछन् ।पछिल्ला दिनहरुमा सामान्य कारणले ज्यान गुमाएका व्यक्तिहरुलाई पनि शहिद घोषणा गर्न थालिएपछि नागरिक स्तरबाट चर्को आलोचना हुँदै आएको छ । खासगरी २०६३ सालमा सम्पन्न दोश्रो जनआन्दोलनपछि बनेका सरकारले विभिन्न खालका घटनामा मरेका व्यक्तिहरुलाई पनि राजनितिक कारण जोड्दै शहिद घोषणा गर्दै आएकाछन् । यसले वास्तविक शहिदको अपमान र अवमूल्यन भएको गुनासो बढ्दै गएको छ ।
साभारः हाम्रो पात्रो