नेपाल स्वयंसेवी रक्तदाता समाजको पर्सा जिल्ला शाखा गठन


१ बैशाख, पर्सा / नयाँ वर्ष विक्रम सम्वत् २०८१ को शुभअवसरमा पर्सामा नेपाल स्वयंसेवी रक्तदाता समाजको ३७औं जिल्ला शाखा बिस्तार गरिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा आयोजित भेलाले राजेन्द्र पटेलको अध्यक्षतामा पर्सा जिल्ला शाखा गठन गरिएको हो ।

त्यस्तै भेलाले उपाध्यक्षमा अरसद अन्सारी, सचिवमा अनिल शाह, कोषाध्यक्षमा बिनयकुमार पटेल र सदस्यहरूमा क्रमशः बिक्रम पटेल, मोहमद उमर, सौरभ पाण्डे, सुनिल यादब, अमिर मियाँ, जितेन्द्र शाह, बुनिलाल प्रसाद, प्रदिप पण्डित र मुनिल पटेललाई चयन गरेको छ ।

नवगठित कार्यसमितिका अध्यक्ष राजेन्द्र पटेलले चाँडै नै एउटा रक्तदान कार्यक्रमको आयोजना गर्ने र मधेश प्रदेश सरकारलाई रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूको पीडित समक्ष नि:शुल्क बितरणको लागि ज्ञापन-पत्र समेत पेश गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा समाजले हालै प्रकाशन गरेको ज्ञानवर्धक भित्तेपात्रो उपस्थित सबैलाई मायाको चिनो स्वरूप केन्द्रीय अध्यक्ष कर्माचार्यले प्रदान गर्नुभएको थियो ।

सत्‌मार्ग फाउन्डेसनका अध्यक्ष तबरेज आलम  लगाएतका अन्य अतिथि एवं नवगठित नेपाल स्वयंसेवी रक्तदाता समाज पर्सा जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले खादा लगाई कार्य सफलताको शुभकामना दिनुभएको थियो ।