प्रदेश प्रमुख परियारद्वारा विक्रम सम्वत् २०८१ को शुभकामना व्यक्त


१ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ बर्ष विक्रम सम्वत् २०८१ सालको शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

सन्देशमा प्रदेश प्रमुख परियारले “नयाँ वर्ष वि.स.२०८१ को यस सुखद उपलक्ष्यमा कर्णालीवासी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजूभाइहरुमा सुख, शान्ति र सम्वृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यो नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान र थप जोश, जागर सिर्जना गरी मुलुकलाई सुशासन,सामाजिक न्याय र समृद्धिको दिशामा अग्रसर गराओस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु । हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्दै आएका छौ । तसर्थ नयाँ वर्ष आशा‚ अपेक्षा र उमङ्गको उत्सव पनि हो,हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पुजीको विकासद्धारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्छ ।

ठूलो संख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आवद्ध गर्न रोजगारीका अवसरहरुको सिर्जना गर्ने नीति कार्यान्वयन गर्न ढिलाई गरिनु हुँदैन । जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य‚ कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरु अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सबैमा आह्वान गर्दछु । अन्तमाः नयाँ वर्ष २०८१ ले देशमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिको लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास‚ कुरीति एवं कुसंस्कारहरुलाई समुल नष्ट गर्दै न्यायपूर्ण‚सभ्य र सुसंस्कृत समाज निर्माण गर्दै सामाजिक रुपान्तरण गर्न सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् भन्ने शुभेच्छा सहित पुनः शुभकामना व्यक्त गर्दछु । भनी उल्लेख गर्नुभएको छ ।