पोखरा विमानस्थलको निर्माण पुसबाट’


पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माणको काम आगामी पुस महिनादेखि प्रारम्भ हुने अपेक्षा गरिएको अधिकारीहरुले बताएका छन्।

चार दशक अघि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भनि जग्गा अधिग्रहण गरिएको थियो।

गत वैशाख महिनामा विमानस्थलको शिलान्यास भएको हो।

विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रकमको जोहो भई चिनियाँ ठेकदार कम्पनी निर्माणको पूर्वतयारीमा जुटिसकेको अधिकारीहरुले बताएका छन्।

तयारी

चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्बको लागतमा विमानस्थलको निर्माण कार्य चार वर्षभित्रमा पूरा गरिने लक्ष्य लिइएको छ।

निर्माण शुरु गर्न आवश्यक प्रक्रियाहरु प्राय: पूरा भएको र अब छिट्टै निर्माणकै काम शुरु गरिने जानकारी आयोजना प्रमुख प्रदीप अधिकारीले दिए।

उनले भने, “शिलान्यास हुनासाथ काम शुरु हुन्छ कि भन्ने अपेक्षा स्वाभाविक हो। तर यो परियोजनाको सम्झौतामा नै एक वर्ष डिजाइनका लागि अवधि तोकिएको थियो।”

आयोजना प्रमुख अधिकारीले आउँदो मंसिरदेखि पुसभित्र निर्माणको काम थालिने बताए।

इञ्जिनियरिङ, खरिद र निर्माण (इपिसी) ढाँचामा विमानस्थल निर्माण गर्ने जिम्मा चीनको सिएएमसी कम्पनीलाई दिइएको छ।

सम्झौता अनुसार चार वर्षभित्रमा विमानस्थलको विस्तृत डिजाइनका साथै निर्माण पूरा गर्ने अवधि भएको आयोजना प्रमुख अधिकारीले बताए।

केपी ओली नेतृत्वको अघिल्लो सरकारका पालामा विमानस्थलको शिलान्यास गरिएको थियो

उनको भनाई थियो, “डिजाइन चिनियाँ निर्माण कम्पनीले प्राधिकरणलाई पेश गरेपछि स्व दिने काम गर्नुपर्छ। त्यो स्वीकृति दिने कामका लागि आवश्यक नक्सा पुनरावलोकन र निर्माण सुपरिवेक्षण गर्ने परामर्शदाताको छनोटको हामी अन्तिम चरणमा छौं।”

विशेषता

चार दशकअघि ३१ सय रोपनी जग्गा, केही वर्षअघि ५ सय २० रोपनी जग्गा विमानस्थलको लागि पोखरा उपमहानगरपालिका भित्रै अधिग्रहण गरिएको छ।

विमानस्थलको विशेषताबारे आयोजना प्रमुख अधिकारी भन्छन्,”यहाँको रन वे, ट्याक्सी वे सबै सिमेण्ट र कंक्रिटबाट बन्छन् अर्कोतर्फ टर्मिनल बिल्डिङमा सबैतिर स्टीलको प्रयोग गरिनेछ जसका कारण भुँइचालो जस्ता विपदमा पनि समस्या आउँदैन, विमानभित्र प्रवेश गर्न पनि अलग्गै ढोकाहरु हुनेछन् जसले गर्दा रनवेमा गाडी चढेर विमान चढ्ने स्थानसम्म गइरहनुपर्दैन।”

विमानस्थलमा बोइङ ७५७ र एयरबस उडान तथा अवतरण गर्ने अपेक्षा गरिएको छ।

विमानस्थल निर्माणसंगै पोखरालाई अन्तर्राष्ट्रिय शहर बनाउन सरकारी र निजी क्षेत्रले पहल गर्नुपर्ने पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष रबीन्द्रबहादुर प्रजुको धारणा छ।

उनी भन्छन्,”चार दशकको पोखरेली सपना हो। यो बनिसकेपछि यसपछिको अन्तर्राष्ट्रिय शहरमा यहाँका निकाय र निजी क्षेत्र मिलेर आधारभूत सुविधाहरु दिने प्रयास गर्नुपर्ने हुन्छ।”

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि चीन, भारत लगायतका मुलुकहरुसँग सिधा हवाई सम्पकै भई यस क्षेत्रको पर्यटन तथा अन्य आर्थिक क्रियाकलापमा सुधार हुने विश्वास लिइएको छ।

साभार: विविसी