कात्तिक मसान्तभित्र औषधि किन्न मन्त्रीको निर्देशन


Gagan-Thapa-57d360c5ec0ef5.55604375२३ कात्तिक, काठमाडौं । स्वास्थ्य मन्त्री गगन थापाले देशभरका सरकारी अस्पताललाई  कात्तिक मसान्तभित्र औषधि खरिद प्रक्रिया सक्न निर्देशन दिएका छन् ।

स्वास्थ्य मन्त्री गगन थापाले बुधबार मंगलबार स्वास्थ्य सेवा विभाग पुगेर औषधि खरिद प्रकियाबारेे जानकारी लिएका छन् । त्यसक्रममा उनले सबै जिल्ला अस्पताल लगायत स्वास्थ्य केन्द्रहरुलाई औषधि खरिदका लागि कात्तिक मसान्तभित्रै टेण्डर प्रकिया सुरु गरिसक्न निर्देशन दिएका छन् । लगतै प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाले मातहतका सबै अस्पताललाई परिपत्र गरेको छ ।

महाशाखाका अनुसार हालसम्म ५४ जिल्लाहरुले तीन लाख रुपैयाँ बराबरको औषधि खरिद गरिसकेको छ । यसका लागि टेण्डर आह्वान गर्नु पर्दैन ।

दश लाख भन्दा बढी मूल्यको औषधि खरीद गर्ने १६ जिल्लाहरुले पनि टेण्डर आव्हान गरिसकेका छन् । ‘बाँकी पाँच जिल्लाहरुले विभिन्न कारण मंसिरसम्म प्रकृया अगाडि बढाउन नसक्ने बताएकोमा उनीहरुलाई समेत कार्तिक मसान्तभित्रै उक्त प्रकृया अगाडि बढाउन निर्देशन दिइएको छ’, प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत अच्युत लामिछानेले भने ।

निर्देशनअनुसार आगामी पुस महिनाभित्र सबै जिल्लाहरुमा औषधि खरीद प्रकृया सम्पन्न भई औषधि वितरण हुने उनको दाबी छ ।

उनका अनुसार अघिल्ला वर्षहरुमा औषधि खरिद प्रकृया माघ फागुनमा मात्र हुने गर्दथ्यो । जसले गर्दा औषधि वितरण प्रकृया लामो हुने गरेको थियो ।

तर, यस वर्ष स्वास्थ्य मन्त्रालयले औषधि खरीदमा कडाई गरेपछि समयभन्दा पहिलै नै यो प्रकृया सम्पन्न हुने अवस्थामा पुगेकोे छ ।

महाशाखाका अनुसार त्यसरी खरिद गरिएका औषधिमध्य धेरै अस्पतालले निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ । जस अनुसार २५ शैय्याको अस्पताललाई ७० प्रकारका औषधि निःशुल्क दिने, प्राथमिक स्वास्थ्य सेवालाई ५८ प्रकारका तथा हेल्थ पोष्टहरुलाई ३५ प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरिएको छ ।

त्यसबाहेक नेपाल सरकारले सूचिकृत गरेको निःशुल्क औषधि बाहेक विभिन्न रोगहरुमा अत्यावश्यक पर्ने ३११ प्रकारका औषधि समेत सरकारले निःशुल्क दिने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसको लागि मन्त्रालयले प्रत्येक जिल्लालाई ३९ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

विरामीको संख्या, जनसंख्या, रोगको प्रकृति तथा विभिन्न अवस्थालाई मध्यनजर गरेर मन्त्रालयले विनियोजन गरेको उक्त बजेटलाई विभागले विभिन्न शीर्षकमा बाँडफाँड गरी सम्बन्धित जिल्लाहरुमा पठाउने गरेको छ ।

त्यसरी बजेट पठाउँदा स्वास्थ्य मन्त्रालयले समग्र बजेटको २० प्रतिशत बजेटमात्र मातहतका अस्पतालहरुलाई दिने गरेको छ । त्यसबाहेक क्षेत्रलाई १० प्रतिशत तथा ७० प्रतिशत औषधि केन्द्र आफैंले खरिद गरी सम्बन्धित जिल्लाहरुलाई पठाउने गरेको छ । यति गर्दामात्र पनि उक्त औषधि सम्बन्धित जिल्लाहरुमा ७/८ महिनाका लागि पर्याप्त हुने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसका लागि मन्त्रालय आफैंले खरिद गर्ने औषधिहरुका लागि पनि टेण्डर प्रक्रिया अघि बढिसकेको छ ।

साभारः अनलाइन खबर